प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

डिसी नेपाल
२१ साउन २०८१ १८:५३
80
Shares

किमाथाङ्का। नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति सङ्खुवासभाले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो।

यही साउन १४ गते विद्युत् महसुल नतिरेपछि लाइन काटेको र लाइन जोड्न धम्की दिँदै मादी नगरपालिका–४ ओखरबोटका लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूले शाखा कार्यालय मादीका इञ्चार्ज राजकुमार र ओजेटिमा खटिएका विद्यार्थीमाथि कुटपिट गरेका थिए।

कार्यालय परिसरमा प्रवेश गरेर कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको सङ्गठन निजामतीका जिल्ला अध्यक्ष भोलामान राईले जानकारी दिए। कार्यालय परिसरभित्रै पसेर राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरिनु दुःखद् भएको र यस्ता हर्कतले कर्मचारीको मनोबल कमजोर भई सेवा प्रवाहमा गम्भीर असर पर्ने उनले बताए।

मादीका लक्ष्मण लिङ्थेपको क्रसर उद्योगले रु ६ लाखभन्दा बढी बक्यौता नतिरेपछि लाइन कारिएको थियो। कुटपिटको आरोपमा लिङ्थेप र लिम्बूविरुद्ध गत साउन १५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ। उजुरी लगत्तै उनीहरु फरार छन्।

कर्मचारीमाथि कुटपिट भएपछि मादीमा रहेको प्राधिकरणको कार्यालय साउन १५ गतेदेखि बन्द रहेको छ। कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *