अनलाइनमार्फत ठगी गर्ने नौ जना भारतीय नागरिक पक्राउ

डिसी नेपाल
२३ साउन २०८१ १९:५३
196
Shares

मकवानपुर। प्रहरीले अनलाइनमार्फत ठगी गर्ने नौ जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। जिल्लाको हेटौँडा उपमहानगरपालिका–४, पारिजातपथस्थित प्रमोद वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने नौ जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा भारत पटना थाना आलमगञ्ज वडा नं ५७ बस्ने २८ वर्षीय नवनित कुमार, भारत स्वाग कोल्लिएरी, बोकरो झारखण्ड बस्ने २७ वर्षीय शाहरुख खान, भारत करवा बलराम अरवल करपी बिहार बस्ने २९ वर्षीय कुन्दन कुमार, भारत कृष्ण कालोनी छोटी मुखानी हल्द्वानी नैनिताल उत्तराखण्ड बस्ने २६ वर्षीय आशिष कब्डौला, भारत काजु बागाना रोड सुन्दर नगर, हेहल राँची झारखण्ड बस्ने ३४ वर्षीय विशाल कक्कड, भारत केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्ड बस्ने ३८ वर्षीय लोकेशकुमार दुवे, भारत लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्ड बस्ने २९ वर्षीय विकासकुमार सिंह, भारत नांगलोड वेस्टी देल्ही बस्ने २८ वर्षीय अरुणकुमार, भारत वैशाली गजियावाद उत्तर प्रदेश बस्ने ४० वर्षीय कुनाल शर्मा रहेका छन्।

साउन २१ गते साँझ ६ बजेको समयमा भाडाको फ्ल्याटमा बसी मेडि असिष्ट नामको कम्पनीमार्फत अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

उनकानुसार पक्राउ परेका उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप सात थान, राउटर तीन थान, मोबाइल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन चार थान, माउस दुई थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प दुई थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प दुई थान बरामद भएका छन्।

गत फागुन १० गते हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा भारतको पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रवीनकुमार सिंहको नाममा मेडी असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने गरी वाग्लेको घरमा फ्ल्याट भाडामा लिई सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक रिजालले बताए। मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर दर्ता गरिएको उक्त कम्पनीमा १२ जनालाई काममा राखेको बुझिए पनि हाल नौ जनालाई मात्रै पक्राउ गरिएको छ। अन्य तीन जना (द्रवीनकुमार सिंह, रजत शर्मा र प्रकाश) भने फरार रहेका उनले बताए।

उक्त कम्पनीमा कार्यरत व्यक्तिले १८ देखि ५० हजार भारतीय रुपैयाँ नगदमा तलब बुझ्ने गरेको खुले पनि भुक्तानीको कुनै पनि अभिलेख फेला नपरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धानका अगाडि बढाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *