इङ्ल्याण्डका क्रिकेटर ग्राहम थोर्पको मृत्युको रहस्य खुलासा
काठमाडौं । गत हप्ता इंग्ल्याण्डका पूर्व ब्याट्सम्यान ग्राहम थोर्पको ५५ वर्षको उमेरमा निधन भएको थियो । अहिले उनको परिवारले थोर्पले ‘आफैं आफ्नो ज्यान लिएको’ बताएका छन् । थोर्पले इङ्ल्यान्डका लागि १०० टेस्ट र ८२ ओडीआई खेलेका थिए ।
द टाइम्सलाई दिएको अन्तर्वार्तामा थोर्पकी पत्नी अमान्डाले उनका श्रीमान् पछिल्ला वर्षहरूमा डिप्रेसनबाट पीडित रहेको बताइन्।
उनले अखबारलाई भनिन्, “श्रीमती र दुई मायालु छोरी भए पनि उनको अवस्थामा सुधार आउन सकेको थिएन। पछिल्लो समय उनी निकै अस्वस्थ थिए र उनलाई परिवारलाई उनको आवश्यकता नभएको महसुस हुन थालेको थियो। उनको यो कदमबाट हामी गहिरो दुःखी छौं।”
थोर्प विगत केही वर्षदेखि डिप्रेसनबाट पीडित रहेको श्रीमती अमान्डाले बताइन् । उनले २०२२ को मे महिनामा पनि थोर्पले आफ्नै ज्यान लिने प्रयास गरेको र धेरै दिनसम्म आईसीयूमा बसेको बताइन् ।
ग्राहम थोर्प आफ्नो पुस्ताका अनुभवी ब्याट्सम्यान थिए। उनले ८२ एकदिवसीय खेलमा २३८० रन बनाएका छन् भने १०० टेस्ट खेलमा ६ हजार ७४४ रन बनाएका छन् । जसमा १६ शतक पनि समावेश छ ।
सन् २००५ मा सन्यास लिएपछि उनी कोचिङतर्फ लागे । अब परिवारले ग्राहम थोर्पको नाममा फाउन्डेसन स्थापना गर्ने घोषणा गरेको छ ।
Facebook Comment