प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

डिसी नेपाल
६ भदौ २०८१ ७:३५
28
Shares

काठमाडौं। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले राखेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ। यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन बुधबार प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। त्यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’ भन्ने सार्वजनिक महत्त्वको विषयमाथी स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची छ।

धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन्। यसैगरी आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुतगर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा जनाइएको छ। अर्थमन्त्री पौडलेले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *