बाढी, पहिरोलगायतका विपद्मा परी १९५ को मृत्यु
काठमाडौं। अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९५ जनाको मृत्यु भएको छ।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३६, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार बाढी पहिरोमा परी काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ५९ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ४७ जना घाइते भएका छन्।
बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी आज सम्म जम्मा दुई सय दश जनाको उद्दार गरिएको प्रवक्ता कार्कीले बताए।
उनले भने, ‘बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४९ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ।’
बाढीका कारण हालसम्म जम्मा चार सय आठ घर डुबानमा परेका प्रहरीले जनाएको छ। तीन सय ४२ वटा घर, एक सय २१ वटा गोठ, ५१ वटा पुल, छ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। बाढी पहिरोले नौँ सय नौँ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट पाँच हजार आठ सय ८३ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment