माओवादी केन्द्रको अगुवाइमा हेर्ने कथाका पात्र प्रकाश तामाङको घर निर्माण सुरु
भोजपुर। युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ। प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो।
भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो। पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरुपमा नयाँ बन्ने घरको शिलान्यास गरेका थिए।
गेसोका अध्यक्ष राईले आफ्नो पूख्र्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिएका छन्। करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र)को अगुवाइमा घर बन्न लागेको हो। उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ।
घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ। लगभग ३३ वर्ष हराएका ४३ वर्षीय तामाङ गत शनिबार षडानन्द–१० साङपाङको छाप्लेगाउँस्थित बाबुआमासँग बस्दै गरेको घर आइपुगेका थिए। आगामी दिनमा बाबुआमासँगै बसेर खेती किसानी गर्ने उद्देश्य रहेको प्रकाशले बताए।
प्रकाशका लागि अहिले सहयोगी निकायबाट विभिन्न सहयोग हुँदै आइरहेको छ। साथै उनको घरमा गएर सरकारी टोलीले प्रकाशको जन्मदर्ता र नागरिकतासमेत बनाइदिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment