‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

डिसी नेपाल
३ असोज २०८१ २१:१८
36
Shares

काठमाडौं। काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन्। सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ। मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौंमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।

उनले भने, ‘मेलम्चीको पानी असोज दोस्रो साता भित्रै काठमाडौंमा ल्याउने तयारीमा छौँ।’ सोही योजनाअनुसार अहिले काठमाडौंमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको छ।

वर्खा याम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो। बाढीको सम्भावना कम भएसँगै काठमाडौंमा पानी वितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ।

काठमाडौं उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ।

काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ। मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *