न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि

डिसी नेपाल
११ असोज २०८१ २१:१८
8
Shares

काठमाडौं। नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४ (पहिलो संशोधन २०८०) को खारेजी माग सम्बोधन नगरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ।

बारका महासचिव अञ्जिता खनालले आज जारी गरेको प्रेस विज्ञप्तिमा बारका मागलाई सम्बोधन नगरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उक्त निर्णयप्रति गम्भीर असहमति र चिन्ता व्यक्त गरिएको छ।

‘संविधानसम्मत उचित र जायज मागलाई पूर्णतया बेवास्ता गरी विरोध, घेराउ र नाराबाजीका बीचमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकाले उक्त निर्णयप्रति नेपाल बार एशोसिएशन गम्भीर असहमति र चिन्ता व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिको बैठकमा न्याय परिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्ने सहमति भइ गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन हुनुपर्ने बारको माग छ।

बारले गैरसंवैधानिक संशोधित नियमावलीको खारेजी गरेर मात्र न्यायाधीश नियुक्ति गर्न माग गर्दै आएको छ। बारको आन्दोलनकै बीच आज न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *