नेपालको विकास प्रयासमा कोरियाले थप सघाउने सभामुख घिमिरेको विश्वास
काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल र कोरियाबीच भएका उच्चस्तरीय भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र द्विपक्षीय सम्झौताले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको बताएका छन्।
नेपाल र गणतन्त्र कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘२०२४ कोरियाली सांस्कृतिक कार्यक्रम’मा उनले दुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान र सहकार्यमा आधारित सहयोगपूर्ण सम्बन्ध रहेको उल्लेख गरे।
कोरिया सरकारले नेपालाई विकास साझेदार मुलुकको प्राथमिक सूचीमा राखेर विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै सभामुख घिमिरेले नेपाली युवालाई रोजगारीका अवसर प्रदान गरेर कोरियाले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको समेत बताए।
उनले नेपालमा वैदेशिक लगानीको वातावरणलाई विश्वसनीय बनाउन कोरियाली कम्पनीको भूमिका स्मरणयोग्य रहेको र नेपालको विकास प्रयासमा कोरियाले थप सहयोग गर्ने विश्वास व्यक्त गरे। नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिँदै सभामुख घिमिरेले ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन अपिल गरे।
कार्यक्रममा कोरियाली कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment