देवी दुर्गाको ‘खोइछ’ भरिदै
महोत्तरी। मधेसको मिथिलाक्षेत्रमा दशहरा (दसैँ) पर्वका अवसरमा श्रद्धालु भक्तजनले देवीको ‘खोइछ’ (पोल्टा) भर्न थालेका छन्। दसैँको फूलपातीको पूजा विधि सम्पन्न भएसँगै देवीको ‘खोइछ’ भरिने मैथिल चलन छ। खासगरी विभिन्न समयमा देवीको पुकारा गर्दै इच्छित कामना पूरा भएका हरुले भाकलमा ‘खोइछ’ भर्ने गरेका छन्।
जिल्लाका सबै देवी शक्तिपिठ, दुर्गा मन्दिर र दुर्गा प्रतीमा स्थापित गरिएका ठाउँमा दुर्गा भवानीको ‘खोइछ’ भर्ने भक्तालुको लामो पङ्ति छ। खोइछमा भाकलअनुसार वस्त्रआभूषण, द्रव्य (सुन, चाँदी वा तामाका गहना वा भाँडा), नगद भेटी र नरिवलसहितका फल भर्ने गरिन्छ।
फूलपाती विधि सम्पन्न गरेपछि सुरु हुने खोइछ भर्ने कार्य नवमी तिथिभरि जारी रहन्छ ।
नवरात्रमा विधिपूर्वक व्रतमा रही दुर्गाको आराधना गर्ने र भक्तिभावले खोइछ भर्ने भक्तमाथि देवीको अनन्य कृपा हुने विश्वास गरिन्छ। देवी दुर्गाको खोइछ भर्ने श्रद्धालुलाई कहिल्यै दारिद्र नलाग्ने हिन्दू मैथिल विश्वास जनमनमा स्थापित छ।
मिथिलामा देवीको खोइछ भर्ने कार्य पुरुष, महिला दुवैले गर्नसक्छन्। यद्यपि यहाँ खोइछ भर्नेमा अधिकांश महिला देखिन्छन्। देवीदेवतासँग इच्छित कामनाका लागि भाकल गर्ने महिला बढी हुनेहुँदा खोइछ भर्ने महिला बढी हुने गरेका मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment