सद्भावको पर्व तिहार

बंशीकुमार शर्मा
१५ कार्तिक २०८१ ८:३९

तिहार वैदिक सनातनी धर्मालम्वीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदसीदेखि कात्तिक शुक्ल द्वितीया दिनसम्म पर्दछ। यस पर्वलाई यमपञ्चक र दिपावलीको नामले पनि पुकारिन्छ।

सनातनी धर्मालम्वीहरु प्रकृति पूजक हुन्। जल, जमिन जंगल सवैलाई पुज्छन् भने स्थलचर, जलचर, उभयचर र सरिसृप सवैलाई भगवानका रुप देख्ने सम्मान गर्ने पूजा अर्चना गर्ने गर्दछन्।

प्रकृतिमा रहेका उड्ने पंक्षी, स्थलमा रहने पशु, वृक्ष, जमिनमा रहने जलजन्तु, जल थल दुवैमा रहने उभयचर, घस्रेर हिँड्ने सरिसृप सबैलाई कुनै कुनै रुपमा पूजा आजा अर्चना गर्ने भएकोले बैदिक सनातनीहरु प्रकृति पूजक पनि हुन्।

तिहारमा काग, कुकुर, गाई, गोरु, तथा मानिसको समेत पूजा हुन्छ। नेवार संस्कृतिमा आफ्नो पूजा आफैं म्ह पूजा गर्ने चलन छ। घर लिपपोत गरि घरको चारैतीर दीपावली गरी लक्ष्मी र गोवर्द्धन पर्वतको समेत पूजा उपासना यस पर्वको थप विशेषता हो। यस पर्वमा तोरण टाक्ने अर्को बिशेषता छ।

आरोग्यताका देवता धन्वन्तरीको कात्तिककृष्ण त्रयोदशीका दिन धन्वन्तरी जयन्ति मनाउने गरिन्छ। धन्वन्तरी देवता देवासुर संग्र्रामका बेला समुद्र मन्थन गर्दा अमृतघडाका साथमा प्रकट भएका हुन् भन्ने पौराणिक शास्त्रमा उल्लेख छ।

दीपावलीको अन्तर्य पनि आयु र आरोग्यसँगै सम्बन्धित छ, जसले तन र मनलाई सफा र उज्यालो पार्नुपर्ने सन्देश दिएको छ चन्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको अवधि तिहार हो। तिहारको पाँच दिन क्रमशः काग, कुकुर, लक्ष्मी (गाई), गोबद्र्धन पूजा (गोरु) र भाइ टीका पर्दछ।

शास्त्रीय मान्यता अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बसेको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो।

यमराज बहिनीका घरमा पाँचदिन सम्म बस्दा बहिनी यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई इच्छा वर माग्ने भनेपछि बहिनी यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै बरदान दिए।

जुन दिदी बहिनीले मनसा, वाचा, कर्मणा र शुद्धचित्तले भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने बरदान दिए भन्ने शास्त्रीय मान्यता अनुसार प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।

तिहारले एकातिर मानव तथा पशु पंक्षीबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गरेको छ भने अर्कोतीर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ। यमराज वैदिक सनातनीहरुका आदर्शका देवता हुन्।

गोवर्द्धन पाहाडले घनाबृष्टिबाट मानवलाई रक्षा गरेको कारणले पूजा गर्ने चलन चल्दै आएको छ। पौराणिक शास्त्र अनुसार भगवान कृष्ण र स्वर्गका देवता इन्द्रसँग सम्वन्धित छ।

भगवान ईन्द्र गोकुलवासीसँग रिसायर घनघोर वर्षा पारेपछि भगवान कृष्णले गोकुलमा रहेका मानव पशुपंक्षी सवैको रक्षाकोलागी गोवद्र्धन पर्वत उचालेर रक्षा गरेको शास्त्रीय मान्यता छ।

यसैगरि दानवीर बलिराजाले वालबालिकालाई नाँचगान गरेर खुसियाली मनाउन पठाएको त्यही नाँचगान भैलीको रुपमा आजसम्म रहेको किम्वदन्ती छ। वास्तवमा तिहार कहिलेदेखि मनाउन लागियो भनेर यकिन नभए पनि सनातन या परम्परादेखि मनाउँदै आएको पौराणिक शास्त्रहरुमा उल्लेख छ।

काल गणना सुरु भएको ३५०० पूूर्व बस्ने गोपालहरुको प्रसंग र सिजा राज्यका १४ औं शताब्दीका बलिराजाको प्रसंग सँगसँगै आउने हुँदा तिहर पर्व हजारौं वर्षदेखि मनाउँदै आएको देखिन्छ।

काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग अत्यन्तै चलाख पक्षी हो । कागलाई विशेष गरी सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ। धर्मशास्त्रहरु अनुसार धर्मत्मा यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन्।

त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ। आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिलेपनि रहेको छ। कागलाई हिन्दू धर्ममा सन्देशवाहकको रुपमा लिइन्छ।

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ,। मानव सभ्यता देखिनै कुकुर मानवसंग अत्यन्त नजिक रहेको भनिन्छ।

वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ। कुकुर भगवान भैरवको वाहन पनि हो। कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

गाई तिहार ,लक्ष्मी पूजा

तिहारको तेस्रो दिन गाईको पूजाआजा गरी गाई तिहार मनाइन्छ। हिन्दु धर्मालम्वीहरुले गाईलाई लक्ष्मी र गौमाताका रूप मान्दछन्। धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने संस्कार छ ।

गाईलाई लक्ष्मी र माताको रुपमा पुजिन्छ। त्यसदिन साँझ दिपावली गरि धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक उपसना गरि पूजा अर्चना गर्ने चलन छ।।

गाई गोरु पूजा

तिहारमा गाई, गोरुको पूजा पनि गरिँदैछ। गाई, गोरुको पूजा गरी जौ चामल मिसाएर नुन हाली खुवाउने चलन छ। यसलाई पिरो खुवाउने भनिन्छ।

नेपाली समाजमा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधेको डोरो (रक्षासूत्र) यो दिन गाईका पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी नदी तर्न सजिलो हुन्छ भन्ने जनविश्वास छ। गोवर्द्धन पर्वतलाई पुजिन्छ ।

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। गर्ने परम्परा छ। गोवरको पाहाडको प्रतिक बनाएर पूजा गरिन्छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्द्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाउदै आएको जनबिश्वास छ।

गोवर्द्धनपूजाका अवसरमा देवालय तथा अन्य बाटाहरूमा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने चलन चल्दै आएको छ। गोवर्द्धन पूजाको दिन बलिराजाको पनि पूजा गरिन्छ।

यम पञ्चका अन्तिम दिन भाई टिका लगाउने परम्परा रहेको छ। भाइतिहार (भाइ टीका) तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ।

यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। स्थान अनुसार हिन्दु धर्मालम्वीहरुले पनि आ आफनै तरिकाले तिहार मनाउने गर्दछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *