रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
बेइजिङ। संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबीचको बढ्दो सम्बन्ध आफ्नो चासोको विषय नभएको बताएको छ।
“उत्तर कोरिया र रूस दुई स्वतन्त्र सार्वभौम राष्ट्र हुन्। उनीहरूले द्विपक्षीय सम्बन्ध कसरी विकास गर्छन् भन्ने कुरा उनीहरूको आफ्नै विषय हो,” बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने।
युक्रेनमाथिको आक्रमणको फाइदा उठाउँदै राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाबाट सैनिक र सैन्य सामग्री स्वीकार गरेका छन्। एक शताब्दीभन्दा बढी समयपछि पहिलो पटक रुसले आफ्नो भूमिमा विदेशी सेनालाई आमन्त्रण गरेको हो।
अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसमा रहेका १० हजार उत्तर कोरियाली सैनिकमध्ये करिब आठ हजार कुस्र्क सीमा क्षेत्रमा पुगेको बताएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाली सेनामाथि आफ्ना सहयोगीले गरेको अकर्मण्यताको निन्दा गर्दै चीनको ‘मौनता’बाट आफू आश्चर्यचकित भएको बताएका छन्।
जवाफमा बेइजिङले शुक्रबार उत्तर कोरिया र रूसबीच द्विपक्षीय आदानप्रदान र सहयोगको विशिष्ट अवस्थाबारे आफूलाई थाहा नभएको बताएको छ।
लिनले भने, “विभिन्न पक्षले स्थितिलाई सहज बनाउने र युक्रेन सङ्कटको राजनीतिक समाधानका लागि काम गर्ने आशा गर्ने चीनको अडान परिवर्तन भएको छैन।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment