षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास- भाग २०

राजदरवार हत्याकाण्डको बाँकी खण्ड

कपिल लोहनी
८ मंसिर २०८१ ७:४७

दरवार हत्याकाण्डमा जेठ १९ गते निधन भएका राजा, रानी लगायत सम्पूर्ण नौ जना राजपरिवारका सदस्यहरूको दाहसंस्कार जेठ २० गते राती गरिएको थियो।

भोलिपल्ट बिहानैदेखि राजाको दुःखद निधनमा शोक जाहेर गर्न कपाल खौरनेहरूको ओइरो लागेको थियो। राजा वीरेन्द्रको विशाल लोकप्रियताले गर्दा अधिकांश नेपालीले मनैदेखिको श्रद्धा प्रकट गरेर कपाल खौरेका थिए।

अचेत अवस्थाका राजा घोषणा गरिएका दीपेन्द्रको पनि केही दिनमा नै निधन हुन गयो। उनको निधन भए पछि उनको शवलाई राति नै पशुपतिनाथ आर्यघाटमा लगेर सैनिक सम्मानका साथ दाहसंस्कार गरिएको थियो।

उनको शवको दाहसंस्कार गर्ने बेलामा काठमाडौंमा कर्फ्यु लागेकोले आमजनता आर्यघाट वा बाटोमा जम्मा हुन पाएका थिएनन्। नेपालको इतिहासमा कुनै पनि युवराज वा राजा घोषित भएका व्यक्तिको यस्तो प्रकारको निस्तब्ध दाहसंस्कार भएको थिएन।

राजा वीरेन्द्रको निधनको काजकिरिया भइरहेकै वखत नेपालका विभिन्न शहरहरूमा ठूला ठूला जुलुस तथा दंगाहरू हुन थालेका थिए। विश्वका जुनसुकै ठाउँमा पनि यस्तो अकल्पनिय घटना घट्दा यस्तै प्रकारको स्थितिको सिर्जना हुन जान्छ।

त्यस माथि हाम्रो सरकार, राजपरिषद् र राजदरवारसमेत यस्तो अवस्थामा के गर्ने र के नगर्ने भन्ने कुरामा पुरै अलमल र अस्पष्टतामा परेकोले सबै कुरा हतारमा र विना योजना काम गरेको थियो।

विश्वभर प्रचलित पोष्टमार्टम प्रक्रिया राजा, रानी जस्ता विशिष्ट व्यक्तित्व माथि गर्ने कि नगर्ने, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वहरूको आगमनको निम्ति केही समय दाहसंस्कारलाई पर सार्ने कि नसार्ने आदि जस्ता महत्वपूर्ण कुराहरूमा कतैबाट पनि ध्यान नदिइएको प्रतित भएको थियो।

दीपेन्द्रले आफ्नो प्रेम तथा बुवाआमासँग हुने गरेका खटपटका कुरा देवयानीसहित आफ्ना निकटका साथी र यिनै युवा एडीसीहरूसँग गर्ने गरेकोले यथा-समयमा नै उनीहरूले दीपेन्द्रलाई सम्झाएर उनको तनाव घटाउने प्रयत्न गरेको भए आज स्थिति अर्कै हुने थियो होला। आत्महत्या गर्न तयार भएको व्यक्तिलाई पनि कसैले रोकिदिन सक्यो भने उसको गलत निर्णय क्षण भरमा बदलिन्छ भन्ने कुरा अग्रजहरूबाट सुनिएकै हो।

लेखक महेन्द्र पी. लामाले त्यतिबेला एउटा पत्रिकामा ‘राजा वीरेन्द्र जस्तो एक दूरदर्शी एवम् अब्वल राजनेताको दाहसंस्कार सम्पूर्ण विश्व मिलेर गर्नुपर्ने थियो तर विश्वका मानव समाजले आँशु नै नबाँडी समेटिएर लगियो राजा-रानीको पाथिएव शरीरलाई’ लेखेका थिए।

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले पनि यो परिस्थितिमा कसरी जनतालाई हत्याकाण्ड बारे सूचित गर्ने भन्ने भेउ नपाएर अचानक मेसिनगन चल्न थालेर राजा, रानी र अन्य आठ जनाको ज्यान लिएको कुरा बताए। प्रजातान्त्रिक मुलुकमा यो सबको जानकारी दिने र उचित कदम चाल्ने काम सरकारको हुन्छ। त्यसैले यस्ता लापर्वाहीमा अन्य निकाय वा व्यक्ति माथि दोष थोपर्न मिल्दैन।

एक थरी मानिसहरू यस्तै परिस्थितिको प्रतिक्षामा रहेकाले नचाहिँदा हल्ला व्यापक रूपमा फैलाएर दरवार हत्याकाण्ड एक ठूलो षड्यन्त्र हो र यसमा देश-विदेशका विभिन्न संस्था तथा व्यक्तिहरूको डरलाग्दो संलग्नता रहँदा रहँदै हत्याकाण्डको दोषी चाहिँ दीपेन्द्रलाई बनाइएको भन्ने कुरालाई व्यापकता प्रदान गरिरहेका थिए।

वास्तवमा दरवार हत्याकाण्ड दीपेन्द्रबाटै भएको देखिए पनि उनलाई उक्साउन मुलुकभित्र र बाहिरका विभिन्न तत्वहरूको हात भएको अनुमान पनि धेरैले गरेका छन्।

राजपरिवारका सबै निकट सदस्यको निधन भएकोले अब आफैं गणतन्त्र आयो भनेर भित्र भित्र खुशी भएका देशी-विदेशी तत्वहरू ज्ञानेन्द्र राजा घोषित हुने कुरासँगै निराश भएर उनी माथि हत्याको आरोप लगाउँदै आधार तथा प्रमाणहिन हौवा उडाएर जनतामा घृणा पैदा गर्ने कोशिशमा तल्लिन थिए भने राज्यारोहणको बेला अधिकांश राजनीतिक दलका नेताहरू असर्फी राखेर नयाँ राजाको ढोगभेटमा सामेल भएका थिए।

विभिन्न प्रकारका घृणा फैलाउने कामले गर्दा उनको राज्यारोहणसमेत आक्रोश, विरोध जुलुश, नाराबाजी र तोडफोडको अवस्थामा हतार हतार गर्नुपरेको थियो। सोही दिन युवराज घोषणा गर्नुपर्ने चलन भए पनि राजाका छोरा पारसलाई उनले त्यसपछिको दशैँको बेलामात्र युवराज घोषणा गरेका थिए।

दरवार हत्याकाण्डको लगत्तै बनेको तीन सदस्यीय राजदरवार हत्याकाण्ड छानविन समितिबाट एमालेका नेता माधवकुमार नेपाल अकस्मात पछि हटेपछि सो घटना माथि अझ बढी शंका गरिन थालियो। उता अन्य दुईजना सदस्यहरूले गरेको छानविन प्रतिवेदनले सो रात युवराज दीपेन्द्रले नै सो हत्याकाण्ड रचेको कुराको पुष्टि गर्‍यो।

तर सभामुख तारानाथ रानाभाटको त्यस दिनको बहुलट्टीपूर्ण व्यवहार र हत्याकाण्डको विवरण तथा तत्कालीन प्रधानसेनापतिको गैरजिम्मेवारीपूर्ण तवरले ‘दरवारको सुरक्षा हाम्रो जिम्मामा हुँदैन’ भन्ने जस्ता प्रतिक्रियाले सारा मुलुक सशंकीत र आक्रोशित हुन पुग्यो।

राजदरवार हत्याकाण्डमा बच्न सफल भएका १४ जना प्रत्यक्षदर्शी निकट परिवारजन मध्ये मुमाबडामहारानी रत्नलाई उहाँको उमेरको कारण सोधपुछ गरिएन। तर अन्य सबै १३ जना प्रत्यक्षदर्शीले बेग्ला बेग्लै दिएको बयान कतै पनि नबाँझिएको र सबैले दीपेन्द्रले नै गोली चलाएको वयान दिएको तथ्यको आधारमा सो प्रतिवेदनले दीपेन्द्रलाई नै दोषी ठहर्‍याएको छ।

राजाका सहोदर ज्वाइँ कुमार गोरख निकै घायल भएर बाँचेका थिए तर उनले रानी ऐश्वर्य र निराजन बाहेकका आफ्नी पत्नी श्रुती र ससुरा राजा वीरेन्द्र तथा अन्य नातेदारलाई आफ्नै आँखा अगाडि दीपेन्द्रले पटक पटक मेसिनगनको गोली हानेर मारेको कुरा आफ्नो बयानमा बताएका छन्।

त्यस्तै मृत्युलाई जितेर अस्पतालबाट निकै दिन पछि घर फर्केका रानी कोमल र राजाकी बहिनी शोभाले पनि दीपेन्द्र कै हातबाट यो सब नरसंहार भएको कुरा बताएका छन्। राजाका भाइ धीरेन्द्रका ज्वाइँ डा. राजिव शाहीको वयान पनि त्यस्तै थियो।

आज दरवार हत्याकाण्ड भएको यत्तिका वर्ष बितिसक्दा र मुलुक गणतन्त्रमा परिणत भइसक्दा पनि २०५८ सालमा बयान दिएका कसैको बयानमा पनि कुनै फेरबदल नहुनुले आजसम्म पनि त्यतिबेलाको प्रजातान्त्रिक सरकारले गठन गरेको राजदरवार हत्याकाण्ड छानविन समितिको प्रतिवेदनलाई नै मान्नुको अर्को विकल्प नभएको देखिन्छ।

त्यस्तै राजा ज्ञानेन्द्रलाई विभिन्न अनौपचारिक क्षेत्रबाट हत्याकाण्ड बारेका अनेकन् आक्षेप लगाइए पनि राज्यसत्ता र राजदरबार छोडेर बाहिरिने बेलामा उनले आफूमाथि त्यस्ता आरोप लगाइएकोमा निकै दुःख प्रकट गरेको र सामान्य नागरिकको रूपमा पनि नेपालमा नै हाँसी खुसी बसिरहेकोले उनी माथि लागेका आरोपमा वजन नभएको देखिन्छ।

विभिन्न श्रोत तथा राजदरवार निकटका व्यक्तिहरूका राजदरवार सम्बन्धी पुस्तकबाट युवराज दीपेन्द्रको बाल्यकाल आमाबुवाको ममता विनै बितेको र उनलाई दरवारका सुसारे र सेनाका तल्लो तहका कर्मचारीको जिम्मामा राखिएकोले उनले बचपनमा राजकीय संस्कार पाउन सकेनन् भन्ने कुरा पाइन्छ।

त्यसैले उनी शैशवावस्थादेखि नै जण्ड स्वभावका भएका र आफ्नो सेवामा खटिएकाहरूलाई पिट्ने, अभद्र व्यवहार गर्ने र त्यस्ता व्यवहारबाट मज्जा लिने जस्ता परपीडक क्रियाकलापमा लागेको कुरा पनि ती पुस्तकहरूबाट थाहा हुन्छ।

शिशु निकेतनको पढाइ पूरा भए पश्चात् राजा वीरेन्द्रद्वारा दीपेन्द्रलाई बुढानीलकण्ठ स्कुलमा भर्ना गरिदिएको र जनताका छोराहरूसँग घुलमिल भएर छोराले धेरै व्यावहारिक कुरा सिक्ने विश्वास गरेकोमा एकातर्फ दीपेन्द्रले साहित्य र अन्य विविध विषयमा निकै ज्ञान हासिल गरेको तर अर्को तर्फ सानै उमेरदेखि विभिन्न खालका हर्कतहरू पनि गर्न थालेको कुरा ती पुस्तकहरूमा पढ्न सकिन्छ।

औपचारिक अध्ययनमा निकै तेज तथा जेहेन्दार विद्यार्थी भएकै कारण युवराज दीपेन्द्रले विश्वविद्यालय स्तरको उच्च अध्ययन गर्दा ज्यादै राम्रो अंक प्राप्त गर्न सफल भएका थिए।

आफ्नो अधिकतर अध्ययन विदेशमा भएकोले जनतालाई राम्ररी बुझ्न र जनता माझ भिज्न निकै कठीन भएकोले राजा वीरेन्द्रले आफ्ना तीनै जना छोराछोरीको प्रारम्भिक शिक्षाको बन्दोवस्त नेपालमा नै मिलाएका थिए। फलस्वरुप दीपेन्द्र, श्रुति र निराजनमा जनताका छोराछोरी कै जस्तो साधारण बानी र व्यवहारको विकास हुनुका साथै आमजनतासँग घुलमिल गर्न सक्ने क्षमता थियो।

वास्तवमा राजपरिवारका सबै अग्रज तथा दीपेन्द्रलगायत सम्पूर्ण युवा पिँढीका सदस्यहरू निकै सरल, मिजासिला र सामान्य नागरिक सरहको व्यवहार गर्ने खालका थिए। दीपेन्द्रले नचाहिँदो प्रेमहठ र रिसरागबाट समयमा मुक्ति पाउन सकेका भए उनि राजा वीरेन्द्र भन्दा पनि राम्रा राजा हुन सक्ने थिए।

किनकी वीरेन्द्रको अति भलाद्मीपनाले गर्दा उनले आफ्नो शक्तिको सदुपयोग गर्न नसकेर केही फितला देखिएका थिए भने रानी ऐश्वर्य र दरवारका सचिव र भारदारहरू राज्य सञ्चालनमा हाबी भएका थिए।

राजकुमारी श्रुति र निराजनमा अधिकतर राजा वीरेन्द्रका नम्र र हँसिला गुणहरू देखिन्थे भने दीपेन्द्रमा रानी ऐश्वर्यको जस्तो हठी, हैकमवादी, परपीडक, निर्मम व्यवहार हावी हुँदै गएको थियो।

झनै दुवै उस्तै कडा स्वभावका आमाछोरा बीच प्रेम र विवाहसम्बन्धी विपरित हठले जरा गाडेपछि त दरवारभित्र सबैले थाहा पाउने गरी पारिवारिक कलहको शुरुवात भएको थियो।

लामो समय राजदरवारमा सचिवको रूपमा काम गरेका ईश्वरीमान श्रेष्ठले आफ्नो पुस्तकमा आफूलाई दीपेन्द्र भद्र, शालिन र दयालु युवराज जस्तो लागेको भएपनि दीपेन्द्रको प्रेमहठ र रानी ऐश्वर्यको राजहठको परिणाम दरवार हत्याकाण्ड भएको कुरा उल्लेख छ।

दीपेन्द्रको स्कुले जीवनदेखि नै विभिन्न युवतीहरूसँगको सम्बन्धका कुरा सुनिन थालेका थिए। सुप्रिया शाहसँग त उनले विवाह नै गर्न खोजेका थिए। सुप्रिया मुमाबडामहारानीकी दिदीकी नातिनी हुन्। तर रानी ऐश्वर्यले सुप्रियासँग बिहे गरिदिने कुरा कहिल्यै पनि मान्न चाहिनन्।

त्यस्तै एकजना जापानी युवतीसँग जापानमा नै चिनाजानी र प्रेम भएको र तिनी पछिसम्म पनि नेपाल आइरहने कुरा सुन्नमा आएको थियो। पछि तिनले निराश भएर नेपालबाट फर्कने बेलामा दीपेन्द्रका एडीसी गजेन्द्र बोहरासँग ‘तिम्रो युवराजाधिराज पागल हो, उसको मृत्यु कुकुरको जस्तै हुनेछ’ समेत भनेकी थिइन् भन्ने कुरा राजाका सैनिक सचिव विवेक शाहको पुस्तक ‘मैले देखेको दरवार’मा उल्लेखित छ।

देवयानी राणासँग दीपेन्द्रको चिनाजानी उनी बेलायतमा अध्ययनरत छँदा भएको थियो। उनको र देवयानीको स्थानीय अभिभावक त्यहाँ एउटै व्यक्ति भएकोले उनीहरू र ती सम्भ्रान्त अभिभावकका तीन जना छोरीहरूको निकै राम्रो सम्बन्ध थियो।

यसै क्रममा देवयानीसँग गाढा प्रेम सम्बन्ध गाँसिँदै गएको र दीपेन्द्रले केही समय सुप्रिया र देवयानी दुवैसँग प्रेम सम्बन्ध राख्दै आएपछि यस्तो कुरा मन नपरेर सुप्रिया टाढिँदै गइन्। दीपेन्द्रले पछि रानी ऐश्वर्यसँग ‘सुप्रिया मन पर्दैन भने अब म देवयानीसँग बिहे गर्छु’ भनेका रहेछन्। तर यो कुरामा त झनै कसैको पनि सहमति रहेन।

२००७ सालमा नेपालमा प्रजातन्त्रको शुरुवात भएपछि राजा महेन्द्रदेखि वीरेन्द्रसम्म कुनै पनि राजाले भारतीय युवतीसँग बिहे नगरेको तथा खड्गशमशेरकी भित्रिनीपट्टिकी छोरी ग्वालियरकी राजमाता विजयाराजे सिन्धियाकी छोरी उषाराजे सिन्धियासँग पशुपतिशमशेर राणाले बिहे गरेकोले उनीहरूकै एक  सन्तानको रूपमा देवयानीको जन्म भएकोले रानी ऐश्वर्यले यो सम्बन्धको विरोध गरेको हुन सक्छ। पशुपतिशमशेर राणाकी अर्की छाेरी उर्वशीकाे पनि भारतमा नै विवाह भएकाे छ।

राजा महेन्द्र, मुमाबडामहारानी रत्न, राजा वीरेन्द्र, रानी ऐश्वर्य सबै जुद्धशमशेरको खलकबाट जन्मिएका तथा पशुपतिशमशेरहरू चन्द्रशमशेरको खलकका भएकाले पनि एक प्रकारको पारिवारिक द्वन्द्व थियो।

एकताका भारतको सबैभन्दा ठूलो शाही घराना अर्थात् ग्वालियरकी राजमाता सिन्धिया आफैंले रानी ऐश्वर्यलाई फोन गरेर आफ्नी नातिनीमा के खोट छ र यसरी नमानेको भनेर उनलाई स्वीकार गर्न आग्रह गरेकी थिइन् भन्ने कुरा सुनिएको थियो।

यसको केही समयपछि पशुपतिशमशेर दम्पतिले भारतको एक राजखान्दानका राजकुमारलाई देवयानीसँग बिहे गरिदिने बारे कुरा गर्न नेपाल बोलाएका थिए। ती राजकुमार आफ्ना बाबुआमासँग नेपाल आएको खवर पाउने वित्तिकै दीपेन्द्रले देवयानीलाई भेटेर उसको बिहे अन्त कहीँ भएमा आफूले विष सेवन गरेर मर्ने कुरा बताए पछि सो विवाह छिन्ने कार्यक्रम रद्द भएको थियो भन्ने कुरा आदित्यमान श्रेष्ठको ‘द ड्रिडफुल नाइट’ शिर्षकको पुस्तकमा उल्लेख छ।

३० वर्ष पुगिसकेका युवराज दीपेन्द्रले देवयानीसँग बिहे गर्न गरेका सबै प्रयासहरू खेर जाँदै गर्दा उनमा निकै नैराश्यता छाउन थालेको थियो। सुन्नमा आए अनुसार उनले राजाका शाही पाश्र्ववर्तीहरू भरतकेशर सिंह, ताराबहादुर थापा र विवेक शाह तथा पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापालाई पनि पटक पटक राजारानीसँग उनको देवयानीसँग बिहे गर्ने बारेको कुरामा सहमत गराउन आग्रह गरेका थिए तर रानी ऐश्वर्यसँग यस्तो कुरा गर्न कोही पनि साहस गर्दैनथे।

उता राजा वीरेन्द्र भने ‘यो मामला विमेन्स डिपार्टमेन्टमा पर्छ, रानी र मुमाबडामहारानीले यो कुरा हेर्नेछन्’ भनेर पन्छिन खोज्थे, किनकी रानी र मुमाबडामहारानी बीचको युवराज्ञी छनोट सम्बन्धी विवादमा उनको भलाद्मीपना मुछिन चाहँदैनथ्यो। यसरी राजा वीरेन्द्रले यो कुरामा छोरा दीपेन्द्रको समर्थन नगरेको र तटस्थ बसेकोमा उनी निकै निराश थिए।

उनको विवाहको टुंगो नलागेकोले नै उनीभन्दा पहिले बहिनी श्रुतिको विवाह भएको थियो। पछि श्रुतिले नै बुवा-आमालाई नाताले उनकी नन्द पर्ने गरिमा राणासँग बिहे गरिदिए राम्रो हुने कुरा राख्दा राजारानी दुवैले समर्थन गरेका थिए।

यो कुराले दीपेन्द्र आफ्नी बहिनी श्रुतिसँग निकै चिढिएका थिए र एकचोटी दीपेन्द्रले आफ्नी दुई जीउकी बहिनीलाई लात्ताले पेटमा हानेको कुरा कुमार गोरखले एक अन्तरवार्तामा व्यक्त गरेका थिए। त्यस्तै रानी ऐश्वर्य र दीपेन्द्रको भनाभन हुने गरेको र बोलिचाली नै बन्द हुने गरेको थियो।

मुलुकको राजनीतिक मामिलामा रानीले हस्तक्षेप गरेको नराम्रो भएपनि छोराछोरीको भविश्यको लागि कडा बनेको भने ठीकै कुरा थियो तर रानी ऐश्वर्य र दीपेन्द्रको भनाभन र झगडा पर्दा दुईमध्ये एउटा आगो हुँदा अर्को पानी हुने कोशिश कहिल्यै गर्दैनथे। दुवैमा चरम हठ र उग्रपनाले गहिरो जरा गाडेको थियो।

जेठ १९ गतेको घटना भन्दा केही हप्ता पहिलेको पारिवारिक दिवाभोजको जमघटमा विवाह सम्बन्धी विवादको थालनी दीपेन्द्रले गरेपछि रानी ऐश्वर्यले ‘दीपेन्द्रले हामीले खोजेकी केटी विवाह नगर्ने हो भने अब नीराजनको विवाह गरिदिने तथा दीपेन्द्रको यस्तै रवैया कायम रहिरहेमा नीराजनलाई युवराज घोषणा गर्छौं’ भने पछि दीपेन्द्र छानाबाट खसेको जस्तो भएका थिए किनकी यस्तोसम्मको वैकल्पिक व्यवस्था हुनसक्ने कुराको बारेमा उनले कहिल्यै सोचेका थिएनन्।

झनै राजाले पनि विश्वका विभिन्न मुलुकका राजा तथा राजकुमारहरूले प्रेमको खातिर राजगद्दी छोडेको उदाहरण थपेपछि दीपेन्द्रले अब देवयानीसँगको उनको विवाह बाबुआमामार्फत हुन नसक्ने कुरा मनमा लागेझैं निराश भएका थिए। यसै सन्दर्भमा उनले ‘इफ आई डु नट बिकम द किङ, नोबडी क्यान बिकम’ (यदि म राजा भइन भने कोही पनि राजा हुन सक्दैन) भन्ने गरेको कुरा विवेक शाहको पुस्तकमा उल्लेखित छ।

अतुल ठाकुरको साथमा ‘काठमाण्डु क्रोनिकल्स- रिक्लेमिङ इन्डिया-नेपाल रिलेसन्स’ नामक पुस्तक हालै प्रकाशन गरेका र नेपालका लागि लामो समयसम्म भारतीय राजदूत रहेका के.भी. राजनले भारतीय अनलाइन पोर्टल ‘किताबवाला’का निखिल वाथलाई केही समय पहिले दिएको एक अन्तर्वार्तामा उनले दरवार हत्याकाण्ड दीपेन्द्र कै हातबाट भएको तर त्यसको पछाडि पाकिस्तानको आइएसआइको हात थियो भनेका छन्।

तर पाकिस्तान र चीनसँग बढी निकट सम्बन्ध राखेका राजा वीरेन्द्रको वंश विनाश गर्न पाकिस्तानको के स्वार्थ हुन सक्ला र भनेर यो कुरालाई वौद्धिक वृत्तले विश्वास गर्न सकेको छैन। दीपेन्द्रको प्रेमहठ र राजदरवारभित्र यही कुरालाई लिएर भइरहेको कचिङ्गलको फाइदा उठाउँदै उनीसँग पछिल्लो केही समयदेखि निकै नजिकको सम्बन्ध राखेर विभिन्न गोप्य ठाउँहरूमा भेट गर्दै आएको कुनै तत्वले दीपेन्द्रको उपयोग गरेर यो हत्याकाण्ड रचाएको हुन सक्ने कुरा पनि सुन्नमा आएको थियो। तर दरवार हत्याकाण्डको छानविन गर्न बनेको कार्यदलले यस्ता सम्भावनाहरू बारे अन्वेशण गरेको वा नगरेको कुरा सार्वजनिक भएको छैन।

दीपेन्द्रलाई यस्तै बेलातिर कतैबाट नारायणहिटी राजदरवार नजिकको वडा कार्यालयमा दर्ता हुने गरी नागार्जुनमा गएर कानुनी विवाह गर्ने बारे पनि सल्लाह आएको थियो। उता भारतको संस्थापन पक्ष र नीति निर्माताहरू पनि दीपेन्द्रको विवाह देवयानीसँग हुनसके र उनी पछि नेपालकी महारानी हुन पाए राम्रो हुन्थ्यो भन्ने सोचाइ थियो भन्ने कुरा विवेक शाहको पुस्तकमा उल्लेख छ।

सोही पुस्तकमा युवराज दीपेन्द्रका युवा तथा साथीसरहका अंगरक्षकहरूको पनि यही चाहना थियो भन्ने कुरा उल्लेख छ। छिमेकी राष्ट्र भारतका नीति निर्माताहरूलाई त्यस्तो चाहना हुनु आफ्नो मुलुकको हितको निम्ति राम्रो हुने भए पनि युवराजको सुरक्षामा खटिएका एडीसीहरूले आफूलाई दिइएको दायित्वभन्दा पर गएर यस्ता कुरा सोच्नु भनेको निकै खतरनाक कुरा हो।

दीपेन्द्रले आफ्नो प्रेम तथा बुवाआमासँग हुने गरेका खटपटका कुरा देवयानीसहित आफ्ना निकटका साथी र यिनै युवा एडीसीहरूसँग गर्ने गरेकोले यथा-समयमा नै उनीहरूले दीपेन्द्रलाई सम्झाएर उनको तनाव घटाउने प्रयत्न गरेको भए आज स्थिति अर्कै हुने थियो होला। आत्महत्या गर्न तयार भएको व्यक्तिलाई पनि कसैले रोकिदिन सक्यो भने उसको गलत निर्णय क्षण भरमा बदलिन्छ भन्ने कुरा अग्रजहरूबाट सुनिएकै हो।

युवराज दीपेन्द्रले सैनिक तालिम लिए पछि हातहतियारबारे उनको विशेष चाखले गर्दा राजदरवारको कोतमा उनको पहुँच बिस्तारै बढ्दै गएर पछि पछि त त्रिभुवन सदनस्थित आफ्नो खोपीमा एम १६ लगायत अन्य अत्याधुनिक हतियार र साना रिभल्भरहरू तथा तिनका गोली र म्यागजिन पनि राख्ने गरेका रहेछन्।

राजाको सुरक्षाको कुरामा यस्तो खेलाची एक निकै खतरनाक विषय भए पनि दीपेन्द्रले कुनै उपद्रो गर्लान् भन्ने कुरामा राजारानीमा कुनै शंकै थिएन तर एक पुराना वरिष्ठ अंगरक्षकले यस्तो कुरा हुन नहुने बारे राजारानीलाई जाहेर गरेका रहेछन्।

राजा वीरेन्द्रका अति विश्वासिला सचिव चिरणशम्शेरले एक अन्तरवार्तामा ‘दरवार हत्याकाण्डको घटना युवराज दीपेन्द्रबाटै भएको हो। हातहतियार चलाउन दिने र अन्य सैनिक कुराहरूमा युवराज दीपेन्द्रमाथि जुन विश्वास गरे, राजा वीरेन्द्रको सबैभन्दा ठूलो भूल नै त्यही भयो’ भनेका छन्।

राजदरबार हत्याकाण्ड एउटा यस्तो घटना थियो जुन आधुनिक विश्वमा विरलै घटेको छ। बंगलादेशका राष्ट्रपति शेख मुजिबउर रहमान र उनको परिवारको हत्या राष्ट्रपति भवन भित्रै भएको थियो भने दक्षिण कोरियाका राष्ट्रपति पार्क चुङ हीको हत्या क्याविनेट मिटिङ भइ रहँदा भएको थियो।

त्यस्तै भारतकी प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीको हत्या उनको सरकारी निवास परिसरमा भएको थियो। अति उच्च सुरक्षा घेराभित्र घटेका यी विभत्स घटनाका साक्षी रहेका प्रत्यक्षदर्शीहरूको बयानको आधारमा नै हत्या बारेको निचोड निकालिएको थियो, तर ती हत्याकाण्ड बारे अन्य कुनै विवाद उत्पन्न भएनन्।

नेपालमा भने राजदरवार हत्याकाण्ड भएको बेलामा त्यहाँ उपस्थित तथा बच्न सफल १४ मध्ये १३ जना निकट परिवारजनले एउटै वयान दिएर दीपेन्द्रले सो हत्या गरेको कुरा बताउँदा र प्रजातान्त्रिक नेपालका संसदका सभामुख र प्रधानन्यायधीश सम्मिलित आयोगले गरेको छानविनलाई पनि विभिन्न षडयन्त्रका सिद्धान्तहरूको प्रतिपादन गरेर यस घटनालाई कहिल्यै नसुल्झने विषय बनाइएको छ।

यसभन्दा अघि महात्मा गान्धी, लियाकत अलि खान, जोन एफ. केनेडी, अन्वर अल सादात, रणसिंघे प्रेमदाशा, राजीव गान्धी, बेनजिर भुट्टो आदि जस्ता उच्च राजनीतिक हस्तीहरूको हत्या सार्वजनिक स्थल तथा कार्यक्रममा भएकोले ती घटनाहरू देख्ने मानिस धेरै थिए, त्यसैले ती हत्याकाण्ड बारे कुनै विवाद आएन।

आधुनिक नेपालमा राजदरवार हत्याकाण्डले सम्पूर्ण नेपाली जनमानसमा कहिल्यै खाटा नबस्ने एक ठूलो घाउ बनाइदियो। अधिकांश नेपाली जनतालाई यो कहाली लाग्दो घटनाको सम्झना आउने वित्तिकै चरम भय र नैराश्यता छाउने भए पनि आजको हाम्रो घिनलाग्दो राजनीतिका अधिकांश नायकहरू भने सत्ता लिप्सा, मोजमज्जा, झुठ र बकम्फुसे सपनाको खेतीमा र घृणित तथा फोहरी खेल खेल्नमा नै व्यस्त छन्।

क्रमशः…

-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *