मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ। यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई एक लाख थप गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका हुन्।
अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ। उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अंग दान गर्ने घोषणा गरिसकेका छन्। देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका केन्द्रले जनाएको छ।
विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन्। मृत्युपश्चात् भने अंग दान गर्न पाउने व्यवस्था छ। मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जीवित व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ।
हाल भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि दुई सय मिर्गौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ। यो कूल अंग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो। वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन्।
मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले स्वास्थ्यमन्त्री पौडेलको यो निर्णय सकरात्मक रहेको बताए। ‘एक वर्षमा हजारौँ मानवको मष्तिष्क मृत्यु हुन्छ। एक जनाबाट आठ वटा अंग प्राप्त हुन्छ। जनचेतनाको अभाव, अस्पतालसम्मको पहुँच नहुनुलगायत विभिन्न कारणले दान दिने परिवार कम छन्। अंग दानले कसैको ज्यान बच्नुका साथै आर्थिक सहायता पनि हुन्छ’, उनले भने।
केन्द्रका अनुसार हालसम्म पाँचजना मष्तिष्क मृत्यु भएकाबाट १० वटा मिर्गौला र तीन वटा कलेजो प्रत्यारोपण गरिएको छ। यथाशीघ्र मुटु र फोक्सो प्रत्यारोपणको पनि तयारी भइरहेको डा श्रेष्ठले जानकारी दिए। उनका अनुसार हाल एक हजार बढी मिर्गौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतिक्षामा छन्।
सरकारले मानव अंग प्रत्यारोपण नियमावली, २०७३ जारी गरी मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिको अंग झिकी जीवित व्यक्तिमा प्रत्यारोपण गर्नसक्ने व्यवस्था गरेको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment