प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ: मुख्यमन्त्री पाण्डे

डिसी नेपाल
१७ मंसिर २०८१ १९:१३
108
Shares

गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ कामबाट दिनुपर्ने बताएका छन्। प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज आयोजना गरेको समीक्षामा उनले काम छिटो गर्न र गुणस्तरमा ध्यान दिन कार्यालय प्रमुखहरूलाई आग्रह गरे।

‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ’, उनले भने, ‘प्रदेशको धेरै बजेट पूर्वाधारको क्षेत्रमा रहेकाले यस मन्त्रालय र मातहतका कार्यालय बढी जिम्मेवार छ।’ चालु वर्ष कुल बजेटको ३८ प्रतिशत भौतिक पूर्वाधार विकासअन्तर्गत विनीयोजन भएको छ।

प्रदेश स्थापनाको यस अवधिसम्म ७५ अर्ब रूपैयाँ भौतिक पूर्वाधारको क्षेत्रमा खर्च भएको र यसबाट छ सय ९६ किलोमिटर सडक ग्राबेल, नौ सय एक किलोमिटर ब्ल्याक टप कालोपत्रे, एक सय तीनवटा पूल निर्माण भएको छ। ‘प्रदेश सरकारले गरेको कामबाट नागरिकले सहज सेवा पाएका छन्’, मुख्यमन्त्री पाण्डेले भने, ‘प्रदेश स्थापनापछि विकासको गति बढेको छ।’

संघ सरकारबाट प्राप्त हुनपर्ने अनुदान घट्दा काम भएका योजनामा बजेट अभाव रहेको उनले बताए। गत वर्ष संघ सरकारले करिब दुई अर्ब अनुदान नपठाएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने, ‘गत वर्ष अनुदान नआउँदा अहिले पनि प्रदेश सरकारलाई करिब तीन अर्बको दायित्व छ।’ योजना छनोट भएर कार्यान्वयनमा गएपछि बजेट काटिँदा प्रदेश सरकारको दायित्व बढेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *