चितवनसँग सुदूरपश्चिमको पहिलो हार

डिसी नेपाल
२३ मंसिर २०८१ १६:५१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पहिलो पराजय भोगेको छ। तीन खेलमा जित निकालेको सुदूरपश्चिम आजको खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो।

१ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १ सय ३१ रनमै समेटिन पुगेको छ। चितवनले चार खेलमा तेस्रो जित हात पारेको छ। सुदूरपश्चिम र चितवन समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

इशान पाण्डेले सुदूरपश्चिमका लागि सर्वाधिक ३५ रन जोडेका छन्। सैफ जैब १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्वा १२, आरिफ शेख ४, कप्तान दीपेन्द्रसिंह ऐरी १, नरेश बुढाऐर ५, नरेन साउद १० रनमा आउट भएका हुन्। स्कट कुग्लेनले १६ रन जोडे।

चितवनबाट रिजन ढकाल, कुशल मल्ल, यान निकोलस लफ्टी इटन र अमरसिंह रौउटेलाले २–२ तथा सोहेल तनवीर र रन्जीत कुमारले १–१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले ५ विकेटको क्षतिमा १ सय ६४ रन जोडेको हो। ओपनर हसन इसाखिलले चितवनबाट सर्वाधिक ६५ रन बनाएका थिए।

सन्तोष कार्की ९, विपिन रावल १७, कुशल १३ रनमा आउट भए। रवि बोपारा ३६ रनमा आउट भए। रौटेला र लफ्टी इटन दुई/दुई रनका साथ अविजित रहे।

सुदूरपश्चिमबाट कुग्लेनले २ विकेट लिए। दीपेन्द्र, म्याकमुलेन र जैबले १–१ विकेट लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *