प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’ घोषणा, जातीय भेदभाव र अपुरो प्रेमको संवेदनशील कथा
काठमाडौं। चलचित्र ‘रङ्गेली’ निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ घोषणा गरेका छन्। सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस चलचित्रको औपचारिक घोषणा गरिएको हो।
घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ। वाचनमा उनले भनेका छन्, “मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ।” यसबाट चलचित्रले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ।
चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेता सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्दै भनेका छन्, “सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।”
अभिनेत्री लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै भनेकी छन्, “सोल्टी, म तपाईँलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न । तर हामी एक हुन सक्दैनौँ ।”
यी संवादले यस चलचित्रमा अपुरो प्रेमको गहिरो कथा रहेको अनुमान गर्न सकिन्छ ।
चलचित्रको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियो जनाइएको छ । पृष्ठभूमिमा चलचित्रको थिम गीतले भावनात्मक स्पर्श थपेको छ ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रले पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ । हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ ।
चलचित्र घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment