पोखरालाई काठमाडौंले हरायो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले तेस्रो जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई काठमाडौंले ६ विकेटले पराजित गर्यो।
पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। यो जितसँगै काठमाडौंको प्लेअफको सम्भावना जिवितै रहेको छ। यता, पराजित पोखरा भने प्लेअफको सम्भावना लगभग सकिएको छ।
काठमाडौंको जितमा स्टेफन इस्किनाजीले अर्धशतकीय पारी खेले। उनले ३४ बलमा १० चौकाको मद्दतमा ६० रन बनाए। पहिलो विकेटको लागि माइकल लेभिड र स्टेफन इस्किनाजीले ५८ रनको सानदार साझेदारी गर्दै सुरुआत गरेका थिए। माइकल १८ बलमा २५ रन बनाएर आउट भए। यस्तै गेरहार्ड इरासमस्ले १० बलमा २५ रन बनाएर अविजित रहे।
पोखराको लागि बलिङतर्फ विपिन खत्रीले तीन विकेट लिँदा माइक लिस्कले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३८ रन बनाएको थियो। पोखराका लागि रेमन रिफर सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा एक चौका र तीन छक्का प्रहार गरे। यस्तै दिनेश खरेलले ३८ रन बनाए। २५ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे। दिलिप नाथले २७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमाडौंका रशिद खान र कप्तान करण केसीले समान तीन तीन विकेट लिए। यस्तै गेरहार्ड इरास्मस र माइकल लेभिटले समान एक एक विकेट लिए।
काठमाडौंको ६ खेलमा ३ जितसँगै ६ अंक भएको छ। पराजित पोखरा भने समान खेलबाट चार अंक छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment