गौतमबुद्ध क्रिकेट रंगशालामा प्याराफिट निर्माण सुरु

डिसी नेपाल
१ पुष २०८१ १९:२६
848
Shares

भरतपुर। चितवनको भरतपुर-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्याराफिट निर्माण सुरु भएको छ। अहिले स्ट्याण्ड–१ मा प्याराफिट निर्माण सुरु भएको हो। त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट निर्माण थालिने छ।

भिआइपी टावर १ मा उपर बीमको काम अन्तिम चरणमा पुगेको छ। लगतै पहिलो तलाको काम अघि बढ्ने प्रोजेक्ट म्यानेजर इञ्जिनियर वीरेन्द्रकुमार यादवले जानकारी दिए। उनका अनुसार टावर–२ को भने लोवर बीमको काम अन्तिम चरणमा पुगेको छ।

मैदानको कामअघि बढाउन माथिल्लो भागको माटो निकालिएको छ। अब छिट्टै पानी निकासका लागि उच्चस्तरीय प्रविधि जडान गर्ने तयारी रहेको यादवले बताए।

आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र संघीय सरकारसँग समन्वयमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माण अगाडि बढाएको हो। नयाँ सम्झौताअनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर सन्तोष आचार्यले जानकारी दिए।

रंगशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुई वटा भीआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माणको काम गर्नेछ। धुर्मुुस सुन्तली फाउण्डेशनले यसअघि नै पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रंगशालाको कूल क्षमता १५ हजार पुग्नेछ।

गत असार २३ गते रु ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्ने गरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। सम्झौता मितिभन्दा अगाडि नै काम सक्ने निर्माण कम्पनीको तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *