‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्ने’

डिसी नेपाल
३ पुष २०८१ २१:१२
20
Shares

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल हस्तकला महासंघले आज यहाँ आयोजना गरेको ‘नेपाल–चाइना सांस्कृति तथा पर्यटन सम्मेलन’लाई सम्बोधन गर्दै उनले निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास हुने उल्लेख गरे।

मन्त्री पाण्डेले भने, ‘चिनियाँले संस्कृतिभित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार गरिरहेको अनुभव हाम्रा लागि राम्रो सिकाइ हुनेछ। भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्व हुन्छ।’

उनले पर्यावरणमैत्री पर्यटनमा जोड दिँदै पछिल्लो समय सूचना प्रविधि क्षेत्रको विकासले शिखर चुमेको समयमा डिजिटल टुरिजम विकासतर्फ समेत ध्यान दिनुपर्ने बताए।

मन्त्री पाण्डेले नेपाल र चीनबीच प्राचिन समयदेखि नै चित्रकला, काष्ठ कलालगायतका विषयसमेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला र पर्यटन एक अर्काको परिपुरक भएको र यी दुई बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गरे। नेपाली हस्तकला सामग्री ६० भन्दा बढी देशमा निर्यात हुने गरेको र आन्तरिक बजार तथा विदेश निर्यात गरी वार्षिक रु २४ अर्बको कारोबार हुने गरेको जानकारी गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *