अमेरिकामा सांगीतिक कार्यक्रम गरिने

डिसी नेपाल
१४ पुष २०८१ ७:१७
152
Shares

काठमाडौं। संयुक्तराज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले सांगीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ।

‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा तीन भिन्न कार्यक्रम आयोजना गरिने आयोजक ‘फ्लाइ नेपा’का अध्यक्ष विनोद अधिकारीले जानकारी दिए।

उनले भने, “हामीले मनोरञ्जनको पूर्ण खुराक तयार गरेका छौं। यसमा हाँस्ने, नाच्ने र सुन्ने तीनै विधालाई समेटेका छौं। हामी यसलाई अझै सभ्य र भव्य रूपमा गर्ने तयारीमा छौं। अमेरिकाका विभिन्न सहरमा आगामी फेब्रुअरी र अप्रिलमा कार्यक्रम प्रस्तुत गरिने छ।”

अध्यक्ष अधिकारीले ‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङ्गेनी र प्रताप दास, गायिका कला लम्साल र एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेल तथा ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठलगायतको प्रस्तुति रहने जानकारी दिए।

गायक प्रताप दासले आफूलगायत सम्पूर्ण कलाकारले प्रस्तुतिको तयारी गरिरहेको बताए। उनले भने, “हामीले अमेरिकाको परिवेश सुहाउँदो प्रस्तुति दिने तयारी गरिरहेका छौं। यसपटक हामीसँगै दर्शकलाई नचाउने तयारी गरिरहेका छौं। यो सांगीतिक यात्रा रमाइलो र स्मरणीय हुनेमा विश्वस्त छौं।”

आयोजकका अनुसार अमेरिकाको न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो, क्यालिफोर्नियालगायत सहरमा कार्यक्रम हुनेछ। यस अगाडि फ्लाई नेपाले ‘अब नाच्छ अमेरिका’ र ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *