संकट र अनिष्टको पूर्व सूचक ‘दोलखा भीमसेन’

दिपा पौड्याल
२१ पुष २०८१ १२:३३
632
Shares

दोलखा। दोलखा भीमसेन दोलखा बजारमा अवस्थित छ । त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ।

त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ।  शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ।

भीमसेन भीमेश्वर मूर्तिबाट रातो र सेतो तल चूडामणिको टप्पामा बाँधिएको हुन्छ। देशमा सङ्कट अनिष्ट हुनुभन्दा पहिले भीमसेन मूर्तिमा पसिना आउने गर्दछ। त्यसैले भीमसेनलाई पूर्व सूचक भनिएको हो।

मूर्तिमा पसिना आएको ६ महिना भित्र देशमा नराम्रो घटना घट्छ भनिन्छ। यसरी श्री भीमसेन मूर्तिमा पसिना आउदा पसिना पुछेको कपास पहिले पहिले राजदरबार पठाउने र त्यहाबाट बलि पूजा पठाउने चलन थियो भन्ने स्थानिय व्यक्तिहरूको भनाई छ।

यो भीमेश्वर भीमसेनको मूर्ति कहिले कसले स्थापना गरेको हो एकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन। वडा दशैमा पूजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरूको नाम लिने चलन छ। जस्तो हाइहाइ राजा, सुइसुइ राजा डवाफे गोंस, तुफी गोंस राजा, गोल्मा राजा, लिच्छवी कालिन, मल्लकालिन, पात्रवंशी राजा तथा गद्धिसिन श्री ५ महाजारधिराज समेतको नाम लिने गरिन्छ। महाभारतको युद्ध पछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान छ।

भीमसेनको मूर्तिको साथै दाया तर्फ आमा कुन्ति , बाया तर्फ पत्नी द्रौपति र यस पछिको दाया वाया उत्तर दक्षिणमा भाइ नहकुल सहदेवको साधारण शिला मूर्ति स्थापना गरिएको छ।  पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाडामा बसी श्री गौरी शंकरको प्राथना गरेका थिए भन्ने भनाई पनि छ।

कालान्तरमा भरियाहरूले भात पकाउनको लागि २ गोटा ढुंगा खोजी ल्याई यही त्रिभुजमा जोडी चुलो बनाए। भात पकाउदा त्रिभुज तर्फको भात काँचै भएकोले रीसले पनि उसले हिर्काउदा दाहिने तर्फ चोइटा गई दुध र रगत मिश्रति तरल पदार्थ वनेको देखि १२ जना भरियाहरू डराई यो साक्षत भगवान रहेछ भनि माफी मागी पूजा गरी आफ्नो बाटो लागेछन् भन्ने किम्वदन्ति पनि छ।

बडा दशै, चैते दशै, कार्तिकमा महास्नान पूजा, भीम एकादशी, शिवरात्री, रक्षा बन्धन, आदि पर्वहरूमा विशेष पूजा र भिड लाग्ने गर्दछ भने बडा दशैमा ३ राँगो, १२ बोका थमा, हाँस, कुखुराको विशेष बलिपूजा गरिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *