गुल्मीमा अग्रजहरुको सम्झनामा पार्क निर्माण
गुल्मी। दिवङ्गत राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुको सम्झनामा यहाँको धुर्कोट गाउँपालिका–५ मा पार्क निर्माण गरिएको छ। पूर्वसांसद स्व रुद्रमणि शर्मा भण्डारी, पूर्वजिल्ला विकास समिति उपसभापति परमानन्द भण्डारी र पूर्वगाउँ विकास समिति अध्यक्ष टोमलाल पाण्डेको स्मृतिमा रुद्रमणि, परमानन्द, टोमलाल स्मृति पार्क निर्माण गरिएको हो।
धुर्कोट गाउँपालिकाको ६७ लाख लागतमा तीन सामाजिक व्यक्तित्वहरुको अर्ध कदको शालिकसहित पार्क निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए।
नवनिर्मित पार्कको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे। मुख्यमन्त्री आचार्यले पछिल्लो समयमा समाजमा योगदान गरेका सामाजिक व्यक्तित्वहरुलाई विस्तारै विर्सँदै जान थालेको अवस्थामा धुर्कोट गाउँपालिकाले त्यस्ता राजनीतिक एवं सामाजिक व्यक्तित्वहरुको योगदानको कदर गरेकोमा आभार व्यक्त गरे।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले पछिल्लो पिँढीले समाजमा योगदान गरेका व्यक्तिहरुको इतिहासलाई जीवन्त राख्न र राजनीतिमा लागेर समाज परिवर्तनका लागि गरेको कामको उच्च मूल्याङ्कन गर्दै उहाँहरुको सम्झनामा पार्क निर्माण गरिएको बताए।
सामाजिक क्षेत्रमा समर्पित स्व सांसद रुद्रमणि शर्मा भण्डारीको २०७५, जिविस उपसभापति परमानन्द भण्डारीको २०६६ र पूर्वगाविस अध्यक्ष पाण्डेको २०७१ सालमा निधन भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment