चिसोले सर्लाहीको जनजीवन कष्टकर

डिसी नेपाल
५ माघ २०८१ १४:२६
72
Shares

मलंगवा (सर्लाही) । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ। चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो।

खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ। जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ। कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ। बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरुले बताएका छन्। सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ।

कुहिरोका कारण किसान खेतीपातीका काममा जान नसक्दा कृषि गतिविधिसमेत प्रभावित भएका छन्। कुहिरोका कारण हिउँदे बालीनालीमा क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्दराय यादवले जानकारी दिए।

कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ। यहाँका बालबालिका, वृद्धवृद्धा र ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन्। चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल डा अविनाश सिंहले जानकारी दिनुभयो। चिसोबाट प्रभावित बिरामीको चाप स्थानीय स्वास्थ्य संस्थामा बढेको स्तुति सौम्य हेल्थ केयर चिकित्सक डा. गुणेश्वर झाले बताए।

जिल्ला प्रशासन कार्यालयले कुहिरो र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्लावासीलाई आह्वान गरेको छ। न्यानो कपडा लगाउन, बिहानबेलुका घरभित्रै बस्न र चिसोबाट जोगाउन बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन प्रशासनले अनुरोध छ। विभिन्न ठाउँमा न्यानो कपडा वितरण र काठ, दाउरा बाल्ने व्यवस्था समाजसेवी संस्थाले गरेका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले पर्सा गाउँपालिका–३ र ४ मा चिसोबाट प्रभावित अनिविपन्न गरीब तथा दलित ६८ जनालाई र विष्णु गाउँपालिका–१ बाराका ६१ परिवारलाई फाइबर सिरक वितरण गरेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *