‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ हुँदै
काठमाडौँ। आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ। यो कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए।
उनले भने, ‘हामीले विभिन्न कार्यक्रम पश्चात यो शो भव्य रुपमा गर्न लागेका छौँ। यहाँका नेपालीले डिमाण्ड गर्नुभएका कै कारण उहाँहरूलाई लिएर शो गर्न लागेका हौँ। यो शोमा हाँस्ने र नाच्ने हो।’
नेपालीको चाँप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ। नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्दै विगतमा प्रकाश सपूत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभल लगायतका कार्यक्रम गरिसकेका भण्डारीले ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ मा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न पाउने बताएका छन्। उनका अनुसार क्यानडाको टोरोन्टो, लन्डन, ओटावा, क्यालगरी, भ्यानकुभर लगायतका सहरमा कार्यक्रम हुनेछ।
क्यानडामा प्रस्तुती दिने खबरले कमेडियन सुमन कार्की उत्साहित छन्। उनले भने,‘क्यानडामा पहिलोपटक प्रस्तुती दिदै छौँ। त्यहाँका लागि हामीले फरक रुपमा आफ्नो तयारी गरिरहेका छौँ। क्यानडामा नेपाली कार्यक्रम बढिरहेको सन्दर्भमा हामीले प्रस्तुती दिन पाउनु हाम्रो लागि सुखद हो। हामी दर्शकको समयको भरपुर सदुपयोग हुने किसिमको प्रस्तुतीको तयारी गरिरहेका छौँ।’
अमेरिका, युके र युरोपमा आफ्नो प्रस्तुती दिईसकेका कार्कीले यसपटकका लागि विशेष तयारी गरिरहेको कमेडियन कार्कीले जनाएका छन्। कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने विश्वास लिएका छन्।
आई र यु इन्टरटेनमेन्टमार्फत निश्चल पौडेल र आगन इभेन्ट्समार्फत जिआर भण्डारीले क्यानडामा नेपाली कला र संस्कृति झल्किने विभिन्न कार्यक्रम गर्दै आएका छन्। उनीहरूले ‘ऊनको स्वीटर’ नामक चलचित्र पनि क्यानडामा नेपालकै मितिमा प्रदर्शन गर्दैछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment