फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

डिसी नेपाल
१७ माघ २०८१ ७:३५
80
Shares

मंगलबारे। इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात भइरहेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो।

दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट भएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए। उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए।

‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ। त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो’ दहालले भने, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ ।’

उनले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए । ‘सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो । उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ’, दहालले भने ।

धूपीको तेल प्रतिकिलोग्राम दुई हजार ५००, तीतेपातीको तेल प्रतिकिलो छ हजार, मेन्थाको तेल प्रतिकिलो सात हजार र धसिंगरेको तेल प्रतिकिलो सात हजारमा बिक्री हुने गरेको छ । दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन् । उनले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गरी गरिरहेका छन् । ‘गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ । धूपी प्रतिकिलो आठ रुपैयाँ र तीतेपाती प्रतिकिलो चार रुपैयाँले घरमै गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्’ दहालले भने ।

गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताए । यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको उनको भनाइ छ । रासस

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *