तनहुँमा ४२ करोड ५० लाख रुपैयाँको सुन्तला बिक्री

डिसी नेपाल
२० माघ २०८१ ७:०५
24
Shares

तनहुँ। तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन्। जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा नौ सय ६८ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए।

उनका अनुसार यस वर्ष पाँच हजार आठ सय ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष जिल्लामा तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

परियारका अनुसार देवघाट, शुक्लागण्डकी र म्याग्दे गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो छ। म्याग्दे गाउँपालिका–३ उमाचोकका सुकनारायण श्रेष्ठले यस वर्ष सुन्तला बिक्री गरी ७० लाख आम्दानी गरे। देवघाट गाउँपालिका–३ का लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखसम्मको सुन्तला बिक्री भएको छ।

किसान भीमबहादुर रानाले यस वर्ष यस वडाबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भइसकेको जानकारी दिए। विगतमा अन्नबाली राम्रो नहुँदा चिन्तामा परेका यहाँका किसान पछिल्ला वर्षमा सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि खुसी भएको किसान प्रेम थापाले बताए।

जिल्लाका कुल आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको केन्द्रले जनाएको छ । केन्द्रले सुन्तलाखेती गर्ने किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

परियारका अनुसार, देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद–८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तलाखेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् ।

काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा पनि यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *