बाढीपहिरो र नदी कटानले क्षतविक्षत बेनी-दरवाङ-मुना सडक: पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
default
म्याग्दी। बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पुर्याएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको छ। बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा पूर्वाधारमा ठूलो क्षति पुगेको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिए।
उनका अनुसार बेनीदेखि मङ्गला गाउँपालिका-२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचनामा क्षति पुगेको छ। नदी कटानका कारण दुई स्थानमा सडक भत्किएको छ। यस खण्डमा मात्रै सडक पूर्वाधारमा रु तीनदेखि चार करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
मालिका गाउँपालिका-६ स्थित बलौटेमा म्याग्दी नदी कटानले करिब १०० मिटर कालोपत्र सडक बगाएर क्षतविक्षत बनाएको छ। पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेर सडकमा क्षति पुगेको छ। त्यस्तै, दरवाङदेखि मुना खण्डको धारापानीमा करिब १५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचनामा क्षति पुर्याएको छ।
सडकमा क्षति पुगेपछि बेनीदेखि मुनासम्मको सीधा यातायात प्रभावित भएको छ। बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति पुगेपछि मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुलदेखि दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ।
साँघुरो, कच्ची र उचित ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन आवतजावत गर्न समस्या हुने गरेको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकले बलौटेमा करिब एक सय मिटर सडक नदी कटानले डिलदेखि कुनासम्मै भत्किएकाले तत्काल नियमित सडक सञ्चालन गर्न कठिन भएको बताए।
उनका अनुसार क्षतिग्रस्त सडकमा पैदलयात्रा गर्नसमेत जोखिम छ। सडकलाई पुनः सञ्चालनयोग्य बनाउन खोलाको किनारतर्फ पक्की पर्खाल निर्माण गरी सडक पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ। बेनी-पानाबगर खण्डको पुननिर्माणका लागि रु चार करोड ६२ लाख ५६ हजार २० र पानाबगर-दरवाङ खण्डको बालौटे खण्डमा पुनःनिर्माणका लागि रु दुई करोड २७ लाख ४३ हजार ५९९ लागत अनुमान गरिएको कार्यालय प्रमुख उलकले बताए।
बालौटेको सडक पुननिर्माणका लागि प्रदेश सरकारले रु २५ लाख स्रोत सुनिश्चित गरेको र दसैँ लगत्तै काम सुरु गरिने उनले जानकारी दिए। म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण गर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताए।
प्रदेशसभा सदस्य जुग्जालीले आवश्यक बजेट व्यवस्था गरेर क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको बताए। अहिले पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट वैकल्पिक सडक हुँदै तोलाबाङ, दरवाङ र मुनासम्म एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको कार्यालयले जनाएको छ। फापरखेत पहिरोको कारण शनिबारयता पखेर-बरङ्जाङ-सातबिसे-बाबियाचौर वैकल्पिक सडक सञ्चालन गरिएको छ।
बेनीदेखि दरवाङसम्म २४ किलोमिटर दूरी रहेको सडकको १६ किलोमिटर ४०० मिटर खण्ड कालोपत्र भएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मुनासम्मको १८ किलोमिटरमध्ये धारापानी–झिनडाडा खण्डको छ किलोमिटरबाहेक बाँकी निर्माणाधीन छ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पसमेत मानिने बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि महत्वपूर्ण मार्ग हो। धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुसमा खुलेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment