‘अज्ञात राेग’ले भैंसी धमाधम मर्न थाले, बर्दिवासका किसान चिन्तित

महाेत्तरी। अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन्। बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन्।
स्थानीय गाेपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैंसी मरिसकेको छन् भने अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वति कार्कीको दुहुनो भैंसी एक्कासी मरेको जनाइएकाे छ।
यसअघि हनुमान चोकमा अर्को किसानको भैंसी समेत मृत अवस्थामा भेटिएको थियो। भैंसीहरुमा कुनैपनि रोगको लक्षण नै नदेखी धमाधम मर्न थालेपछि किसानहरुको चिन्तित बनेका छन्। ‘बेलुका दुध दोहोएर गोठमा सारेको भैंसी बिहान मरिराखेको रहेछ,’ सरस्वती कार्कीले भनिन्, ‘एक लाख १५ हजार भन्दा बढी पर्ने भैंसी गुमाउनु पर्याे।’
भैंसीहरु किन मरे भन्ने बिषयमा नगरले अनुसन्धान अगाडि बढाउन सकिएकाे छैन। यदपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराइसकेको किसानहरुले बताएका छन्। तर नगर पशु स्वास्थ्य शाखाले भैसीहरु महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुन् सक्ने अनुमान गरेको छ।
‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन्,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खड्काले भने, ‘हामीलाई यो विषयमा किसानहरुले जानकारी गराएका थिए तर त्यस्तो माहामारी नै हो भन्ने हैन की खानामा विषादी अर्थात फुड पोइजन भएको हुन् सक्छ।’ थप अनुसन्धान भइरहेकाे उनले जनाए।
वडा अध्यक्ष पद्म आलेमगरले पनि अहिले मरेका भैसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुन् सक्ने बताएका छन्। अहिले बर्दिवासको यो वडा नं.६ मात्र १५ सय भन्दा बढी भैंसी किसानहरुको गोठमा रहेको अनुमान गरिएको छ।
Facebook Comment