कालिंगा विश्वविद्यालयप्रति प्रकृतिका पिताको आक्रोश, विद्यार्थीको होस्टेलमा गुण्डाहरुको आक्रमण

डिसी नेपाल
६ फागुन २०८१ १४:५६

काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरमा कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छोरीको मृत्युपछि त्यहाँ पुगेका मृतक प्रकृतिका पिता सुनिल लम्सालले कालिंगा विश्व्विद्यालयप्रति आफ्नो आक्रोश पोखेका छन् ।

पोस्टमार्टमअघि भुवनेश्वर पुगेका सुनिलले स्थानीय मिडियासँगको कुराकानीमा केआइआइटी विश्वविद्यालयले नेपाली विद्यार्थीहरुप्रति अत्यन्तै गलत व्यवहार गरेको आरोप लगाए । ‘हामीलाई अनुसन्धान सुरु गरिएको मात्रै जानकारी दिइएको छ । पोस्टमार्टम भर्खरै सकिएको छ र रिपोर्ट छिटै आउला’ उनले भने ‘हामीले उनलाई (छोरीलाई) शोषण गरिएको र भावनात्मक रुपमा व्ल्याकमेल गरिएको जानकारी पाएका छौं ।’

उनले आफूले विश्वविद्यालयका अधिकारीहरुसँग कुरा गरेको तर उनीहरुले केही पनि नबताएको जानकारी दिए । ‘हामीले छोरीलाई उच्च शिक्षाका लागि यहाँ पठाएका थियौं तर यस्तो घटना भयो । हामीलाई सरकार र प्रहरी प्रशासनप्रति विश्वास छ र उनीहरुले न्याय दिनेछन् भन्ने कुरामा आशावादी छौं’ उनले भने ।

‘हामीले विद्यार्थीहरुमाथि दुर्व्यवहार भएको जानकारी पाएका छौं । उनीहरुले (विश्वविद्यालयले) यो अत्यन्तै गलत काम गरेका हुन् । उनीहरुले नै विद्यार्थीहरुलाई नेपालबाट यहाँ आएर पढ्न आग्रह गरेका हुन् । ती विद्यार्थीहरुसँग यस्तो दुर्व्यवहार गर्नु राम्रो होइन’ उनले भने । सुनिलका अनुसार प्रकृतिका भाइले पनि यही विश्वविद्यालयमा पढिरहेका छन् ।

यसैबीच प्रदर्शनकारी विद्यार्थीहरुमध्ये एक जनाले आफ्ना आफन्तलाई फोन गरेको अडियो रेकर्डिङ ओडिसा टिभीले प्राप्त गरेको बताएको छ । टिभीले यो फोन रेकर्डिङलाई उद्धृत गर्दै स्थानीय गुण्डाहरु विद्यार्थीको होस्टेलभित्र प्रवेश गरेर उनीहरुलाई कुटपिट गरेको दावी गरेको छ । गुण्डाहरुलाई कसले विश्वविद्यालयमा प्रवेश गराएको थियो र यो कसको अनुमति वा निर्देशनमा भएको थियो भन्ने स्पष्ट छैन ।

फोनको रेकर्डिङका अनुसार कलेजको होस्टलका प्रत्येक तलामा १५–२० जना गुण्डाहरु थिए । उनीहरुले विद्यार्थीहरुलाई कुटपिट गर्ने, फोन खोस्ने र त्यसमा खिचिएका भिडियो वा फोटोहरु डिलिट गर्न लगाउने गरेका थिए । गुण्डाहरुले विद्यार्थीहरुलाई कुटपिट गर्दा नेपाली विद्यार्थीहरुलाई भने तत्काल सामान प्याक गरेर त्यहाँबाट बाहिरिन भनिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *