७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ
काठमाडौं। पर्सा प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका-४ भथौराका १९ वर्षीय अर्जुन महतो र वडा नम्बर १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन्।
उनीहरूलाई बुधबार पर्साका अलग-अलग ठाउँबाट गाँजासहित पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
मिश्रका अनुसार बुधबार १ बजे जिराभवानी गाउँपालिका-३ जितपुरस्थित सडकखण्डबाट महतो समातिएका हुन्। नौकाटोलबाट जितपुरतर्फ आउँदै गरेका पैदलयात्री महतोले दुबै हातमा प्लाष्टिकका झोला बोकेका थिए।
‘इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले महतोले बोकेको दुई झोलामा २३-२३ किलो गाँजा बरामद गरेको हो,’ मिश्रले भने।
सोही दिन पटेर्वासुगौली गाउँपालिका गाउँपालिका-१ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको सडकखण्डबाट अन्सारी समातिएका थिए।
भाठा मन्दिरबाट सिकारी बासस्थान आउँदै गरेका अन्सारीले तीन वटा पोका बोकेका थिए। इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र निकुञ्जस्थित जबुज गण सुरक्षा पोस्ट भाठाको टोलीले अन्सारीलाई ३० किलो गाँजासहित पक्राउ गरेको थियो।
पक्राउ परेका दुबै जनालाई प्रहरीले हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment