स्रोत नखुलेको २८ लाख ९० हजारसहित चार जना पक्राउ
काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिक–४ जितपुरस्थित केसी फेन्सी पसलबाट स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
नेपाली रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाखसहित इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले बिहीबार दिउँसो उक्त फेन्सीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भुइँतलामा रहेको कपडाको गोदाममा बसिरहेको अवस्था प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ बस्ने ३० वर्षीय गोविन्द विकलाई नियन्त्रणमासमेत लिएको छ। उनको साथबाट पाँच सय दरका १ हजार ८०० थान भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी मायादेवी गाउँपालिका ८ बस्ने ३८ वर्षीय सोमनाथ कसौधनको साथबाट एक हजार दरका १ हजार २९४ थान र पाँच सय दरका ३१२ थान नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूसँगै रहेका रूपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बस्ने ४१ वर्षीय बसन्त खरेल र कपिलवस्तु नगरपालिका–११ बस्ने ४२ वर्षीय शेषनारायण गिरीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबलाई भारतीय र नेपाली रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment