स्कुटर चोरीमा संलग्न दुईजना पक्राउ

डिसी नेपाल
२५ फागुन २०८१ २२:३४
224
Shares

काठमाडौं । ट्राफिक प्रहरीले स्कुटर चोरीमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौंको तारकेश्वरबाट स्कुटर चोरी गर्ने सिन्धुपाल्चोकको बाह्रविसेका २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वका १८ वर्षीय सुशान्त बुढामगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

काठमाडौंको सामाखुसी बस्ने महेशचन्द्र खनालको बा८७प १६४४ नम्बरको स्कुटरलाई नम्बर प्लेट नराखीकन चलाएको अवस्थामा पक्राउ गरिएको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।

ट्राफिक प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नाका साथै नागरिकको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्नसमेत अनुरोध गरेको छ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको ‘हटलाइन’ नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरीले सबैलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *