पर्साको बालसुधार गृहमा होली मनाइयो
वीरगञ्ज (पर्सा)। यहाँस्थित बालसुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम गरी होली पर्व मनाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा बसेका बालबालिकालाई होली पर्वको दिनमा खुसियाली दिलाउनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
‘बाल सुधारगृहमा बालबालिकाले पनि होली मनाउन सकुन भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको हो’, उनले भने, ‘बालबालिकालाई अबिर लगाउनुका साथै मिष्ठान्न परिकार खुवाएका हौँ, होली मनाउन पाउँदा उनीहरु निकै हर्षित देखिन्थे।’ उनले होलीले त्यहाँ रहेका बालबालिकालाई आत्मबल बढाउन र सुधारको बाटोमा अघि बढ्न प्रेरित गर्नेमा विश्वास व्यक्त गरे।
‘बालसुधार गृहमा बसेर पनि जीवनमा धेरै काम गर्न सकिन्छ, म त्यहाँ रहेका बालबालिकालाई सिर्जनात्मक बन्न आह्वान गर्दछु, जिन्दगी जिउने कला सिकेर सकारात्मक बाटोमा अघि बढ्नका लागि अनुरोध गर्दछु’, उनले भने। कार्यक्रममा बालबालिकाले गीत, कविता मुक्तक वाचन गरेका थिए।
त्यसअवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको उपस्थिति थियो। बालबालिकालाई व्यवसायी रोशन गुप्ताले भोजन गराएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment