हर्षोल्लासका साथ मनाइयो होली
वीरगञ्ज (पर्सा)। तराई–मधेसका जिल्लामा होली पर्व हर्षोल्लाससहित आज मनाइएको छ। आज बिहानैदेखि पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जसहित आसपासको जिल्लामा बिहानैदेखि होली मनाइएको हो।
पहाडी र तराई–मधेसका समुदायले बिहीबार र शुक्रबार दुवै दिन एक आपसमा शुभकामना आदानप्रदान गरेर होली मनाएका हुन्। संस्कृतिविद प्रमोद पाण्डे ‘हेरम्ब’ तराई–मधेसमा आपसी भाइचारा र भ्रातृत्व विस्तार गर्ने गरी मनाइँदै आइएको बताए।
‘तराई–मधेसमा फागु पूर्णिमाका दिन होलिका दहन गरेको खरानीको अवशेषको टिका लगाएर निष्ठापूर्वक नुहाइधुवाइ गर्ने गरिन्छ’, संस्कृतविद पाण्डेले भने, ‘होलीका विभिन्न प्रकारका पकवान तयार पारेर देवतालाई चढाएपछि कुलदेवतालाई अबिर रङलगायत चढाएर सुरुआत गर्ने गरिन्छ।’ तराई–मधेसमा होली पर्व विशेष गरेर पति र पत्नीबीच एकआपसमा अबिर, टिका आदानप्रदान र परिवारका सदस्यहरूसँग अंकमाल र टीका साटासाट गरेपछि मात्रै आफन्त र साथीभाई माझ होली मनाउने गरिने उनको भनाइ छ।
बिहीबार वीरगञ्ज आसपासका सडकमा होलीको निकै चहलपहल देखिन्थ्यो भने शुक्रबार भने सहरी क्षेत्रमा रोजगारी वा अध्ययनको सिलसिलामा बसोबास गर्नेहरू गाउँघरमा फर्किएर उल्लासमय ढंगले होली मनाउन गइरहेको दृश्य देखिन्थे। वीरगञ्जका चोक–चोक तथा गल्लीमा पनि एकआपसमा अंकमाल गरेर होलीको शुभकामना साटासाट गरिरहेका दृश्य देखिन्थे।
होलीसँग सम्बन्धित विभिन्न प्रकारका गीत संगीत बजाएर नृत्य गरेका दृश्य पनि देखिन्थे। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment