कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

डिसी नेपाल
३ चैत २०८१ २१:५०
240
Shares

तानसेन (पाल्पा) । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला परेका छन्। कालीगण्डकी करिडोर सडकमा काम गर्दै आएका दुई मजदुर छुट्टाछुट्टै स्थानमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिन्धुलीको गोलाचौर गाउँपालिका–६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी नदीमा मृत भेटिएका हुन्।

अस्लामी बगनासकाली गाउँपालिका–६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडकखण्डको अस्थायी क्याम्पमा बसेर सोही सडकखण्डमा डोजर अप्रेटरको काम गर्दै आएका थिए।

उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीसँगै क्याम्पमा सुतेकामा २७ गते बिहान विस्तारामा नभएको र खोजतलास गर्दा पाँच दिनपछि शनिबार राति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

उनका अनुसार अस्लामीले मोबाईल विस्तारामा नै छोडेर गएको र सिसिटिभी फुटेज हेर्दा राति क्याम्पबाट बाहिर निस्किएको देखिएकाले खोजतलास गर्ने क्रममा माईचौरस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा फेला पारिएको हो।

यस्तै, कालीगण्डकी नदीमै मृत फेला पर्नुभएका रास्कोटी पाल्पास्थित राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा श्रमिकका रूपमा काम गर्दै आएका थिए। उनी नदीको किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। रास्कोटी खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल पानीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मल्लले बताए।

दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *