‘नेवाः समुदाय संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा’
काठमाडौं। नेवाः समुदायले आफुहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेको छ। संघीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी भएका गतिविधि स्वीकार्य नहुने नेवाः समुदायले उल्लेख गरेको छ।
नेवाः समुदायका अगुवाहरूले आज एक विज्ञप्ति जारी गर्दै आफूहरू गणतन्त्रको पक्षमा रहेको बताएका छन्। पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई दमन गरेको उल्लेख गरेका छन्।
‘नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो। पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको यस विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिकरुपमा दमन गरेको सर्वविदितै छ’, काठमाडौंको नेवाः समुदायका अगुवाहरु मल्ल के सुन्दर, हितकर वीर सिंह कंसाकार र प्रा डा नरेशमान बज्राचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध नेवाः समुदाय लगायत सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित तथा महिला समुदायको सहभागितामा २०६२÷६३ सालमा भएको दोस्रो जनआन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको विज्ञप्तिमा उल्लेख छ। नेवाः समुदायका अगुवाहरूले जनतामा रहेको असन्तुष्टिमाथि खेलेर हालैका केही समयदेखि संघीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी प्रतिगामी शक्ति चलमलाउन थालेको पाइएकाले त्यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
त्यस्ता गतिविधि नियन्त्रण गर्न र संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समाज निर्माणको राष्ट्रिय संकल्पलाई पूरा गरी नेवाः लगायत आमजनताका असन्तोषलाई इमान्दारीपूर्वक सम्बोधन गर्न सरकार तथा राजनीतिक दलहरूलाई नेवाः समुदायले अनुरोध समेत गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment