दार्जिलिङ, मिरिक, सौरेनी र धूपी

नेपाल बाहिरको नेपाली भूमि दार्जिलिङ, हिमालयको काखमा बसेको एक रमणीय नगर हो। यहाँ पुग्दा कहिल्यै विदेशजस्तो लाग्दैन।
सबै नेपाली बोली, चालचलनका कारण पराइ ठाउँमा पुगेको विरानोपनको कुनै आभास नै हुँदैन। त्यसमाथि नेपालबाट आएका भनेपछि उनीहरूले दिने आतिथ्यता आत्मीय र हार्दिक हुने गर्छ।
त्यसमा पनि स्थानीय साहित्यकार, कलाकारहरूसँगको भेटले थप हार्दिकता प्रदान गर्छ। दार्जिलिङमा इन्द्रबहादुर राई, कालेबुङमा भाएचन्द प्रधान, खर्साङमा शिवकुमार राई, मिरिकमा सिद्धार्थ राई आदिसँगको भेट र भलाकुसारी आत्मीय मित्रताका चिनारी हुन्।
मैले पचासको दशक अघिपछि भेटेका यीलगायत डा. जगत क्षेत्री, डा.लख्खीदेवी सुन्दास, डा. कमला सांकृत्यायन, भोटु प्रधान, राजनारायण प्रधान, रामलाल अधिकारी, जस योञ्जन ‘प्यासी’, भक्त परियार आदि। यी साहित्यकार, कलाकारहरूसँगको कुराकानीका यादहरू अझै आलै छन्।
यस नगरको सुन्दरतामा आगन्तुक मनलाई आह्लादित पार्ने केही प्रमुख स्थलहरू मिरिक, सौरेनी र धूपीको मीठो याद आइरहन्छ। यी तीनै ठाउँहरू मेरा लागि आफ्नै किसिमले अनौठा र मनमोहक छन्।
यिनलाई एकैसाथ जोड्दा दार्जिलिङको सौन्दर्यको एउटा अद्भुत चित्रण मेरो आँखाको परेलीमा दृष्टिगोचर हुन थाल्छन्। त्यसपछि म तीनदशक पछाडि धकेलिन्छु। विगतको धमिला सम्झनाहरू वर्तमानमा देखापर्न थाल्छन्। म बिस्तारै तिनै दिनतिर फर्किन्छु।
साहित्य सम्मेलन भवनमा बास प्रवन्धको व्यवस्था नेपालका नेपाली साहित्यकारलाई यहाँको सुविधा हो। मैले पनि तीन पटक दार्जिलिङ पुग्दा यही सुविधा उपयोग गरेको छु। सुतिरहेको ओछ्यानबाटै देख्न सकिने सुन्दर कञ्चनजङ्घाको सौन्दर्यले एकाबिहानै मन हुरुक्कै हुन्छ। यो सुनौलो दृश्यमा दार्जिलिङको चिया पिउँदै दृश्यमा हराउँदा एकैछिनमा बिहान बितेको ख्यालै हुँदैन।
दार्जिलिङका कवि चन्द्रकुमार तामाङसँग टाइगरहिल हुँदै बनदेवी थान जाँदाको अविस्मरणीय सम्झना पनि आइरहन्छ। साहित्यकार पारिजात र उपन्यासकार प्रकाश कोविदको जन्म गाउँ पुग्दाको क्षण पनि स्मरणीय नै छन्। चौरस्तामा हाम्रा आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिक देख्दा स्वतः गर्वले शिर नतमस्तक हुन पुगेको थियो।
मिरिक, दार्जिलिङबाट केही टाढा अवस्थित एक सानो र शान्त बस्ती हो। यहाँको मनमोहक ताल, हरियाली डाँडाकाँडा र ताजा हावाले यहाँ आउने पर्यटकहरूलाई लोभ्याउँछ।
मिरिकको तालमा डुङ्गा चलाउँदै वरपरको सुन्दर दृश्य अवलोकन गर्नु एउटा अविस्मरणीय अनुभव हुन्छ। घोडामा चढेर ताल वरिपरि घुम्नको मज्जा पनि गजबकै हुन्छ। मिरिकको चिसो हावा र शान्त वातावरणले मनलाई शान्त पार्छ र शरीरलाई ताजा बनाउँछ।
सौरेनी, मिरिकबाट केही तल अवस्थित अर्को एक सुन्दर बस्ती हो। सौरेनी मुख्यतया चिया बगानका लागि प्रसिद्ध छ। यहाँका हरियाली चिया बगानले आँखालाई सजिलै लोभ्याउँछन्। चिया बगानमा घुम्दै चियाको मज्जा लिनु सौरेनीको अर्को आकर्षण हो। सौरेनीबाट देखिने हिमालयको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई अझ बढाएको मैले महसुस गरेको छु।
धूपी, दार्जिलिङको अर्को एक महत्वपूर्ण सम्पदा हो। धूपीका जंगलले यहाँ आउने पर्यटकहरूलाई मन्त्रमुग्ध बनाउँछ। धूपीमा रहेका विभिन्न प्रकारका फूलहरूले यहाँको सुन्दर्यलाई अझ बढाएको हुन्छ। धूपीको फेदमै बसेर चियाको प्याला पिउँदै हिमालयको मनोरम दृश्य अवलोकन गर्नु एउटा अविस्मरणीय अनुभव हुन्छ।
दार्जिलिङ, मिरिक, सौरेनी र धूपी यी ठाउँहरू आफ्नै किसिमले अनौठा र मनमोहक लाग्नु स्वाभाविक हो। यिनलाई एकैसाथ जोड्दा दार्जिलिङको सौन्दर्यको एउटा अद्भुत चित्रण प्रस्तुत हुन्छ। मिरिकको शान्त वातावरण, सौरेनीका हरियाली चिया बगान र धूपीको गगनचुम्बी अग्लाई अनि हिमालयको मनोरम दृश्यले दार्जिलिङलाई स्वर्गको टुक्रा बनाएको छ।
यहाँको प्राकृतिक सौन्दर्यले दार्जिलिङ नेपाल र भारतका पर्यटकहरूको लागि एउटा लोकप्रिय गन्तव्य बनेको कुरा सत्य हो। दार्जिलिङ आउने पर्यटकहरू मिरिक र सौरेनीजस्ता सुन्दर ठाउँहरूमा घुम्न र यहाँको प्राकृतिक सौन्दर्यको मजा लिन भुल्दैनन्। चियाका बगानमा हराउनेहरू, रमाउनेहरू र यी ठाउँमा आइपुगेर स्वर्गाीय सुखका आनन्दले विभोर नहुने कमै हुन्छन्।
मिरिकको शीतलता मिरिकको सपना पनि हो। उचाइको पहाडी टाकुरामा अवस्थित यहाँ गर्मी छल्न आउनेहरूको सधैं घुइचो हुन्छ। जाडो याममा पनि पाहुनाहरूको कमी हुँदैन। जाडोमा आउँदा हिउँसँग खेल्न पाइन्छ।
जुन बेला यहाँको स्थानीय उत्पादन स्कुसको परिकारसँग स्वाद चाख्न पाइन्छ। मैले स्कुसको तरकारी मात्रै खाएको थिएँ। तर त्यहाँ स्कुसकै अनेक परिकार खान पाएर छक्कै परेको थिएँ। कतिसम्म भने अचारका परिकारदेखि स्कुसकै दाल, स्कुसकै मःम, स्कुुकै तरकारीका अनेक भेराइटी।
मिरिकको फेदमा बसेर, चियाको मुना छामेर, धूपीको बास्नामा रमाउँदै, कटेजको न्यानो ओछ्यानमा सुतिरहँदा मनमा उठ्ने भावनाहरूको मिश्रणलाई शब्दहरूले कसरी गाँस्न सकिएला ? मिरिक, यो नाम मात्रै सुन्दा पनि मनमा एउटा शीतल छाप बस्छ। दार्जिलिङको नाम लिँदा म जहिले पनि यहाँको प्यारो प्रकृति र साहित्यकारको सम्झना गर्छु।
मिरिकको झिल, प्रकृतिको एउटा सुन्दर सिर्जना हो। यसको पानी कत्ति निश्चल छ, मानौँ आकाशको एउटा टुक्रा यहाँ झरेको होस्। झिलको किनारमा बसेर पानीमा आफ्नो अनुहार हेर्दा लाग्छ, समय यहीँ रोकिएको छ। चिसो हावा चल्दा झिलको सतहमा तरङ्ग उठ्छन्, जुन हाम्रा मनका तरङ्गहरू जस्तै लाग्छन्।
झिलको वरिपरि फैलिएका चियाबगानहरू मनलाई प्रफुल्लित पार्छन्। हरिया पातहरूले ढाकिएका चियाका बोटहरूलाई हेर्दा लाग्छ, प्रकृतिले कति मिहिनेत गरेर यो सबै सिर्जना गरेको हो। चियाको मुना टिप्ने कामदारहरूलाई हेर्दा मनमा एउटा गर्वको भावना जाग्छ। उनीहरूको पसिनाले सिँचिएको यो चिया हाम्रो लागि कति बहुमूल्य छ।
चियाको बासनासँगै धूपीको बासनाले पनि मनलाई मोहित पार्छ। धूपीको धुवाँ आकाशतिर उठ्दै जाँदा लाग्छ, यो हाम्रा सपनाहरूलाई आकाशसम्म पुर्याइरहेको छ।
धूपीको अग्लाई र एकनाशको स्वरूपले मानौं यौटा नौलो जंगल निर्माण गरिदिएको छ। यस्तो दृश्य देख्दा मनलाई शान्त पार्छ र आत्मालाई शुद्ध बनाउँछ। यतै कतै भुइमै लम्पसार परेर आकाश नियाल्दै धुपीको काखमा सुतिरहौंजस्तो लाग्छ।
कटेजहरू, यहाँको अर्को आकर्षण हो। काठले बनेका यी कटेजहरू प्रकृतिको बीचमा एउटा सानो स्वर्ग जस्तै लाग्छन्। कटेजको झ्यालबाट बाहिर हेर्दा आँखा अगाडि फैलिएको बगानको हरियालीले मनलाई प्रफुल्लित पार्छ।
रातको समयमा आगो ताप्दै कटेजमा बसेर चिया पिउँदा मनमा एउटा अद्भुत अनुभूति हुन्छ। रोमाञ्चक अनुभूतिले मन ऊर्जामय आलेखनको तयारीमा जुट्ने तर्खरतिर लाग्छ।
त्यसैले मिरिक यो केवल एउटा ठाउँ मात्र होइन, यो एउटा अनुभूति हो। यहाँ आउँदा हामी प्रकृतिसँग एकाकार हुन्छौँ। हामी आफ्नो भित्री आवाजलाई सुन्न सक्छौँ। हामी जीवनको सार्थकता महसुस गर्न सक्छौँ।
मिरिकको झिल, चियाबगान, धूपी र कटेज, यी सबै मिलेर एउटा अविस्मरणीय अनुभव प्रदान गर्छन्। यहाँ आउने जो कोही पनि यसको मोहबाट मुक्त हुन सक्दैनन्। मिरिक यो हाम्रो मनको एउटा टुक्रा हो। प्रकृतिको सुन्दर संरचनाको यौटा विराट विम्ब हो।
Facebook Comment