ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

डिसी नेपाल
१३ वैशाख २०८२ २०:०८

काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग र्‍यो भने पोखराले रु ३० लाख पायो।

ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे। ललितपुरले खेलको ४२औँ मिनेटमा अग्रता बनायो। उसका लागि इमोह इजाकियलको गोल गरे। पहिलो हाफमा ललितपुरले १–० को अग्रता बनायो।

खेलको ६४औँ मिनेटमा भने सुदील राइले पोखरालाई खेलमा फर्काए। स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाएका थिए तर रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे।

त्यसपछि खेलको ७४औंँ मिनेटमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट गोल गरे। ललितपुर प्रतियोगितामा अपराजित रहँदै अंक तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो।

ललितपुरले लिग चरणको सुरूआतमा काठमाडौंसँग २–२ को बराबरी खेलेको थियो। त्यसपछि पोखरामाथि ३–२ को जित निकाल्यो। धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २–१, बुटवलविरुद्ध २–० को जित र झापासँग १–१ को बराबरी खेल्दै प्रतियोगितामा अपराजित रह्यो।

यस्तै, ३ जित र ३ बराबरीसहित १२ अंक जोड्दै ललितपुरले अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो। ललितपुरले धनगढीलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

पोखराले लिग चरणको सुरुआत चितवनसँग २–० को हारबाट गरेको थियो। त्यसपछि ललितपुरसँग ३–२ ले पराजित भयो। काठमाडौंमाथि २–० को जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग १–१ गोलको बराबरी खेलेपछि बुटवलमाथि २–० को जित निकालेको थियो। २ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अंक जोड्दै गोलअन्तरको आधारमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा पुग्ने चौथो टोली बनेको थियो। इलोमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै ३–० को जित निकाल्यो।

दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *