लघुकथा : टोक्नु कि बोक्नु

रामनाथ भन्थे-‘मौका पर्दा आफ्नो हात जगन्नाथ कसले गर्दैन’। एक दिन रामनाथले पनि गरे।
उनको भूमिका थियो-साहित्यिक गोष्ठीमा सहभागीहरूलाई किताब बाँड्ने।
उनलाई लाग्यो-मौका यही हो। यतिबेला बाह्र पन्ध्रवटा किताब लुकाए लुकाएको लुकायै हुन्छ। कसले पत्तो पाउँछ!
उनले त्यसै गरे। पहिले लुकाए। अनि बाँड्न थाले।
बाँड्दा बाँड्दै किताब पुगेन। रामनाथले भने-‘पुगेन भने, पुगेन। तात्तातै छापेर ल्याउन सकिने कुरा भए पो!’
सहभागीहरू निराशाका साथ रित्तै फर्किए।
अनि रामनाथ किताव बोकेर निस्किए।
किताबको झोला गह्रौ थियो। बाहिर निस्केपछि झोलाको बोझ घटाउन पाए हुन्थ्यो भन्ने उनलाई लाग्यो। तर थियो किताब। कसलाई दिनु!
बजारमा पुगेपछि उनले एउटा किताब चन्दनलाई दिए, ऊ कहलिएको पाठक हो।
अर्को एउटा किताब विश्वलाई दिए, ऊ पठनपाठनमा सामान्य रुचि राख्छ।
अर्को एउटा किताब किसुनलाई दिए, ऊ यदाकदा पढेको अवस्थामा देखिन्छ।
अर्को एउटा किताब पसले शरदलाई दिऊँ जस्तो रामनाथलाई लाग्यो, दिए।
पर्सिपल्ट शरदको पसलमा जिरा किन्न आउँदा रामनाथले त्यो किताब आधासरो च्यातिएको देखे, उनलाई पनि शरदले त्यही किताबको पन्ना च्यातेर जिरा पोको पारी दियो।
रामनाथको कन्पारो तात्यो, तर केही बोलेनन्।
बाँकी किताब कसलाई दिनु!
गोष्ठीका सहभागीलाई पनि कता खोज्नु!
के भनेर दिनु!
रामनाथलाई झ्याउँ लाग्यो।
रामनाथलाई आफूसँग भएका किताबहरू ‘टोक्नु कि बोक्नु’ भयो।
आफ्नो हात जगन्नाथ गरेकोमा यतिबेला भने उनलाई घोर पछुतो भयो।
pishwor@hotmail.com
Facebook Comment