विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको छः महासचिव पोखरेल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेले निरन्तर नेतृत्व गरिरहेको बताएका छन्। अन्तरराष्ट्रिय श्रम दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले एमालेले ल्याएको विकासको अवधारणले नै मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका हुन्।
‘एमालेले ल्याएका सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरिबबीचको खाडल पुरिएको छ, हामीले छोटो समयमा समानताको यात्रा तय गरेका छौँ’, उनले भने।
मुलुकको अर्थतन्त्र विकासमा सबैभन्दा बढी भूमिका श्रमजीवी वर्गको रहेको उल्लेख गर्दै महासचिव पोखरेलले श्रमजीवि वर्गलाई संगठित गर्ने र उनीहरुलाई अधिकार प्रदान गर्ने आन्दोलनको नेतृत्व जिफन्टले गरेको बताए। ‘जति बेला एमाले सरकारमा पुग्छ, त्यति बेला श्रमजीवि वर्गको हकको पक्षमा कानुन र कार्यक्रम ल्याउने गरेको छ’, महासचिव पोखरेलले भने।
एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको उनको भनाइ थियो। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा अघि सारेको नेपालको परराष्ट्र नीति र विकास नीति परम्परागत सोचभन्दा फरक रहेका समेत उनले उल्लेख गरे।
महासचिव पोखरेलले देशमा सोचेजस्तो विकास हुन नसकेको उल्लेख गर्दै विदेश जाने युवालाई रोकेर मुलुकको उत्पादनमुलक क्षेत्रमा आबद्ध गराउनुपर्ने धारणा राखे। ‘प्रतिगामी मण्डलेहरूले परिवर्तनप्रति अनास्था पैदा गर्ने काम गरिहरेका छन्’, महासचिव पोखरेलले भने, ‘त्यसको श्रमजीवी वर्गले प्रतिवाद गर्नुपर्छ, मुलुकको समृद्ध लोकतन्त्रको रूपमा विकास गर्नुपर्छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment