दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित

डिसी नेपाल
२४ वैशाख २०८२ १४:१३
24
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ।

गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको योजना सात वर्षमा सम्पन्न भएको हो।

करिब पाँच करोड लगानीमा चार वटा योजनामा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका कार्यालयका प्रमुख सिनियर डिभिजनल प्रमुख झलकमोहन ओझाले जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षमा बिनियोजन भएको २० लाख बाहेक गत आर्थिक वर्षसम्म उक्त योजना निर्माणमा चार लाख ६७ लाख ९६ हजार खर्च भएको छ। पर्याप्त बजेट बिनियोजन नहुँदा योजना निर्माण गर्न सात वर्ष लागेको हो।

गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ टंकीमा संकलन गरेर पाइपलाइनमार्फत घरघरमा लगेर वितरण गरिएको दोवा खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाले बताए।

मुहान, टंकी र मुख्य पाइपलाइनको भौतिक संरचना निर्माणमा सघाएको कार्यालयले मुख्य पाइपलाई निर्माण गरेको हो। शाखा पाइपलाईन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाएका हुन्।

योजनालाई व्यवस्थित र दीर्घकालिन रुपमा सञ्चालन गर्न प्रत्येक धारामा मिटर जडान गरेर न्युनतम शूल्क निर्धारण गरिएको उपभोक्ता समितिका पूर्व अध्यक्ष डमबहादुर पूर्जाले बताए।

अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीप गर्बुजाका अनुसार औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो। आयोजना निर्माण भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका उनले बताए।

स्थानीयबासी तालदेवी पुनले घरकै धारामा पानी आपुर्ति भएपछि समयको बचत भएको र झञ्जट हटेको बताए। ‘पानी लिनका लागि मुहानमा जान, आउन लाग्ने समय र झञ्जट हटेको छ,’ उनले भने, ‘शुद्ध र सफा पानी भएपछि दुषित पानीका कारण हुने स्वास्थ्य समस्यामा पनि कमि आएको छ।’ रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *