राजा महेन्द्रभन्दा राष्ट्रवादी टंकप्रसाद

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘फरक दृष्टिकोणमा प्रजापरिषद र टंकप्रसाद’ नामक पुस्तकमा लेखक प्राध्यापक डा. राजकुमार पोखरेलले राज महेन्द्रभन्दा बढी राष्ट्रवादी टंकप्रसाद आचार्य रहेका थिए भनेर लेख्नु भएको छ।
प्रतिष्ठानका अध्यक्ष शुसील प्याकुरेलको अध्यक्षतामा बुधवार त्रिवि क्यामरा भवनमा भएको पुस्तकको समीक्षा कार्यक्रममा यस बारेमा चर्चा भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले प्रमुख आतिथ्यमा भएको पुस्तक विमर्श कार्यक्रम भएको हो।
राजा महाराजाको घटनाक्रमलाई मात्र इतिहास मान्ने पुरानो नेपाली मानसिकताभन्दा धेरै अगाडि बढेर नेपाली राष्ट्रिय इतिहास लेखनलाई टेवा पुर्याउन जनताका छोराको इतिहास पनि लेखिनु पर्दछ।
त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको प्राध्यापक पदबाट सेवानिबृत्त भएका त्रिवि इतिहास केन्द्रीय विभागको विभागिए प्रमुख, मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयको सहायक डीन तथा खुल्ला विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष भएर काम गरिसकेका तथा हाल मानविकी तथा सामाजिकशास्त्र संकायको विद्यावारिधि गराउने अनुसन्धान समितिको सदस्य रहेका प्रा. डा. राजकुमार पोखरेलले ‘फरक दृष्टिकोणमा प्रजापरिषद र टंकप्रसाद’ नामक
पुस्तक लेखेर राष्ट्रिय इतिहास लेखनमा योगदान दिएका छन्। उनले जनताको छोराको इतिहास लेखेका छन्।
राजा महाराजाकै हालिमुहाली भएको बेला वि.सं. २०२६ सालमा राष्ट्रिय इतिहास लेखन गर्ने भनेर समिति बनाइएको थियो। तर राष्ट्रिय इतिहासभित्र जनता र जनताले खोलेका राजनीतिक पार्टीहरुको इतिहास समेत पर्ने भएपछि हो कि किन हो? समितिले काम गर्न पाएन। अहिले हामी गणतन्त्रमा छौं। संघीयतामा गएका छौं।
तर पनि राष्ट्रिय इतिहास लेखनमा सरकारले चाँसो नदिइरहेको बेला टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले नेपाल कै जेठो राजनीतिक पार्टी र जेठो नेता अर्थात् जिउँदो शहिद टंकप्रसाद आचार्यले नेपाल प्रजापरिषद नामक राजनीतिक पार्टीमार्फत गरेको राजनीतिक गतिविधिहरुलाई समेटेर प्रकाशन गरेको यो पुस्तक नेपाल र नेपालीका लागि महत्वपूर्ण शोध पुस्तकको रुपमा आएको छ।
इतिहास प्रमाणमा आधारित भएर लेखिनु पर्दछ। राणा शासनको बेला देशभित्रै सहास गरेर खोलिएको नेपाल प्रजापरिषद नामक राजनीतिक पार्टी कसरी खुल्यो? यसअघिको देशको पृष्ठभूमि कस्तो थियो। पार्टीमा लागेका कारण किन कोही शहिद र जिउँदो शहीद भए?
संस्थापक नेता टंकप्रसाद आचार्य जातबाट च्यूत भएर आजिवन कारावासमा बस्नु पर्दादेखि देशको प्रधानमन्त्री भएर परराष्ट्रनीतिमा नयाँ आयाम थप्न कसरी सफल भएका थिए? भन्ने कुराहरुलाई सुक्ष्म रुपमा प्रमाण तथ्यहरुको आधारमा अन्तर्वार्ता लिएर होस् या प्रकाशित पुस्तक, लेखहरुको अध्ययन गरेर गुणात्मक शैलीमा फरक दृष्टिकोणबाट विश्लेषण गर्न लेखक प्रा.डा. राजकुमार पोखरेल सफल भएका छन्।
लेखकले कम्यूनिष्ट आन्दोलनसंग सम्बन्धित विभिन्न अनुसन्धानहरु गर्दा लिइएका अन्तर्वार्ताहरु पनि यस शोध पुस्तकमा उपयोग गरेका छन्। कम्यूनिष्टहरुका बारेमा धेरै शोध अनुसन्धान गरेका व्यक्तिका रुपमा नेपालको प्राज्ञिक क्षेत्रमा नाम कहलिएको व्यक्तित्व भएकोले पनि यो पुस्तकको विषयसंग ‘केमेष्ट्रि’ मिलेको व्यक्तित्व भएकाले प्राध्यापक डाक्टर पोखरेलले नेपाल प्रजापरिषदको काम गर्ने शैलीका बिषयमा भरमग्दुर उत्खनन् गरेका छन्। यसले नयाँ पुस्ताका लागि राजनीतिको ट्यूशन नै पढाएको जति ज्ञान दिन्छ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले वि.सं. २०५० देखि २०८१ सम्म ३० बर्षको अवधिमा २५ वटा पुस्तक प्रकाशन गरेको पाइएको छ। आचार्यसित केही क्षण, टंकप्रसाद आचार्य स्मृति ग्रन्थ, जयूँदा शहीदहरु, टंकप्रसाद आचार्यको परराष्ट्र नीति, टंकप्रसाद आचार्य र आजको नेपाल, टंकप्रसाद, ज्यूँदा सहिदहरु दोस्रो संकरण, टंकप्रसाद र प्रजापरिषद : संक्षिप्त परिचय नामका पुस्तकहरु आइसकेपछि ‘फरक दृष्टिकोणमा प्रजापरिषद र टंकप्रसाद’ नामक पुस्तक आएको छ।
प्रतिष्ठानले टंकप्रसाद आचार्यका सबै गुणहरुमा खोज र विश्लेषण गर्न लगाएर प्राज्ञिक बहसमा ल्याइराख्दा एकजना असल बामपन्थ, प्रगतीशील बिचारको प्रेरक टंकप्रसाद आचार्यले सिंगो नेपाली प्रबृत्तिको कम्यूनिष्टहरुलाई ‘ब्राण्डेड’ उदाहरणका रुपमा नाम नलिइ नहुने, वा बामपन्थी असल नेतामा पहिलो नाममै राखिराख्नु पर्ने व्यक्तित्व टंकप्रसाद आचार्य हुन् भन्न कन्चुस्याई गर्न हुँदैन भन्ने लाग्दछ।
एउटा आदर्श अथवा पथ नै स्थापित गरेका टंकप्रसाद आचार्यलाई संस्थागत रुपमै नेपाल र नेपालीको मानसपटलमा जीवित राखिराख्न गरेका प्रयासमध्ये आजको प्रयास पनि एउटा हो।
यसका लागि अध्यक्ष तथा मानवअधिकार र सामाजिक न्यायका लागि संघर्ष गरिरहनु भएका व्यक्तित्व सुशील प्याकुरेल र पदाधिकारीका रुपमा रहनु भएका गुरु, त्रिवि आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका विभागीय प्रमुख डा. कुन्दन अर्याल लगायत सम्पूर्ण परिवार धन्यवादका पात्र हुनुहुन्छ।
पुस्तकको शीर्षक चयन :
लेखकले पुस्तकको नाम ‘फरक दृष्टिकोणमा प्रजापरिषद र टंकप्रसाद’ जुराएका छन्। शीर्षक पुस्तकको झ्याल जस्तै हुनुपर्दछ। पुस्तकमा टंकप्रसाद आचार्यसंग समकालीन नेताहरुसँगको सन्सर्ग र टंकप्रसाद आचार्यको परिपक्व राजनीतिक भिजनको सचित्र उल्लेख भएको छ।
पुस्तकमा राखिएका विषयसूचीहरु र त्यसभित्र गरिएको व्याख्या, विश्लेषणमा नेपालमा राणा शासनको अन्त्यगरी प्रजातान्त्र स्थापनाका लागि खुलेको जेठो राजनीतिक पार्टी नेपाल प्रजापरिषद स्थापना हुनु अघिको राजनीतिक वातावरण र प्रजापरिषदको स्थापना साथै समकालिन अन्य दलहरुसँगको प्रजापरिषदको सम्बन्ध, २००७ सालको आन्दोलनमा प्रजापरिषद, २००७ सालपछिको प्रजापरिषद र टंकप्रसाद आचार्यको भूमिकाको बारेमा सुक्ष्म रुपमा फरक ढंगले विश्लेषण गरेको पाइएकोले पुस्तकको नामले पुस्तकको झ्यालको काम गरेको देखिएकोले नाम आकर्षक त छ नै तर फरक दृष्टिकोणमा भन्नेले पाठकमा कौतुहलता जगाउने काम समेत गरेको छ।
यसले इतिहासको उत्खनन् गरेको छ। यसमा विश्लेषणात्मक अनुसन्धानको एउटा पक्ष छ। फरक दृष्टिकोण शीर्षका प्रमाणित गर्न मिहिनेत गर्नु भएको छ। उनले सामाजिक अध्ययन भनेको दृष्टिकोण पनि दिएका छन्। लेखनका विभिन्न अध्यायमा फरक दृष्टिकोणका झलकहरु पटक पटक दिएका छन्।
त्यसैले भित्र विश्लेषण भएको सामग्रीहरुको आधारमा शीर्षक सटिक, आकर्षक र अर्थपूर्ण छ। अझ फरक दृष्टिकोणमा भनिएपछि टंकप्रसाद र प्रजापरिषदका बारेमा थप फरक दृष्टिकोण के आएछ भनेर पाठकमा कौतुहलता जगाउने काम समेत पुस्तकको शीर्षकले गरेको देखिन्छ।
पुस्तकको शीर्षक पढ्दा पुस्तकले कुन राजनीतिक पार्टीका बारेमा? कुन नेताका कुन कुन घटनामा केन्द्रित भएर विश्लेषण गरेको छ भन्ने जानकारी समेत दिएको छ। त्यसैले पुस्तकको नामाकरण यथार्थपरक छ।
अध्याय विभाजन :
पाँच अध्यायमा विभाजित पुस्तकको पहिलो अध्यायमा प्रजापरिषद् स्थापनापूर्वको अवस्थाको बारेमा विश्लेषण गरिएको छ भने दोस्रो अध्यायमा दुई : प्रजापरिषद् र अन्य राजनीतिक दलहरुको बारेमा उल्लेख गरिएको छ। तेस्रो अध्यायमा सात साल पछि टंकप्रसाद आचार्य रप्रजापरिषद्को बारेमा विस्तृतमा व्याख्या विश्लेषण गरिएको छ।
चौथो अध्यायमा टंकप्रसाद आचाार्य नेतृत्वको सरकारका बारेमा उल्लेख गरिएको छ। टंकप्रसाद आचार्य जसले नेपालको प्रधानमन्त्री भएर गर्नु भएका महत्वपूर्णकामहरुको बारेमा यस अध्यायमा विश्लेषण गरिएको छ भने पाँचौ अध्यायमा समकालीन नेताहरु र टंकप्रसादका बारेमा लेखिएको छ।
उपसंहारमा समेत पहिलो राजनीतिक संगठन, सांगठनिक पद्धति र ऐतिहासिकता, संगठनका कमजोरीहरु, महिला जागरणको थालनी, विदेशी सहयोगविहीन राजनीतिक कदम, आन्दोलनको सवाल, देशभक्ति र प्रजातन्त्रप्रति समान प्रतिवद्धता, कमजोर बुझाई र समग्रमा भनेर उपशीर्षक राखेर तटस्थ रुपमा प्रमाणले बोलेको आधारमा पालिस नलगाई विश्लेषण गरिएकोले कुनै वाद वा सिद्धान्तको चश्मा नलगाई पुस्तकमा भेटिएजति सबै प्रमाणहरु राखेर प्राज्ञिक नजरले पढ्नेहरुका लागि प्राज्ञिक लेखन कसरी लेखिन्छ भन्ने स्वाद दिनका लागि लेखक सफल भएका छन्।
पुस्तकको परिशिष्टमा प्रजापरिषद र टंकप्रसाद आचार्याको बारेमा अन्य पुस्तकहरुमा प्रकाशन भइनसकेको लेखक डा. पोखरेलले आफैंले विभिन्न सन्दर्भ विशेष गरेर कम्यूनिष्टहरुको आन्दोलनको विषयमा अनुसन्धान गर्ने क्रममा लिएको अन्तर्वार्ताहरुलाई र पत्रपत्रिकामा प्रकाशित समाचारका कटिङ्हरुलाई परिशिष्टका रुपमा राखेकोले पुस्तक प्रमाणिक र मौलिक भएको छ।
लेखन क्षेत्रमा लेखकको परिश्रम :
प्रस्तुत पुस्तकका लेखक त्रिवि इतिहास केन्द्रीय विभाग पूर्व विभागीय प्रमुख तथा मानविकी तथा सामाजिक शास्त्र संकायको अनुसन्धान समितिका सदस्य तथा सोही संकायको डीनको कार्यालयका पूर्व सहायक डीन प्रा. डा. राजकुमार पोखरेल हुन्।
पुस्तकमा उनले १२ जनासंग अन्तर्वार्ता लिएका छन् भने विभिन्न मानिसहरुले अन्तर्वार्ताका क्रममा दिएको जानकारी र पुस्तक, जर्नलहरुका आधारमा प्रजापरिषदमा लागेर सजाय भएकाहरुको नामावली समेत धेरै मिहिनेत गरेर संकलन गरिएको छ।
२० वटा पत्रपत्रिकामा छापिएका समाचार र फोटोहरुलाई परिशिष्टमा राखिएको छ। ५१ वटा देवनागरिक भाषामा लेखिएका पुस्तक, र अन्य सामग्री ५१ वटा अंग्रेजी भाषामा लिएका पुस्तक र जर्नलहरु र अन्य सामग्रीहरुलाई सन्दर्भग्रन्थ सूचीका रुपमा राखिएको छ।
यी स्रोत सामग्रीको अध्ययन गरेर प्राप्त जानकारीहरुलाई प्राज्ञिक विधि अनुसार ‘एपीए’ सातौं संस्करणमा दिइएको पद्दति अनुसार ‘साइटेशन’ गर्दै आफ्नो ढंगले विश्लेषण गरी विभिन्न उपशीर्षकहरुमा आवश्यकता अनुसार व्याख्या गरिएको छ। लेखकले पुस्तकमा धेरै परिश्रम गरेको पाइन्छ।
लेखक इतिहासको एम.ए.को अध्ययनमा गोल्डमेडलिष्ट भएकाले महेन्द्र विद्याभुषणबाट विभुषित समेत भएका थिए। लेखकले यस अघि नै एक दर्जन पुस्तकहरु लेखिसकेका छन्।
उनले नेपालका कम्युनिष्टहरुको यात्राको गन्तव्य, नेपालका पूर्वी सिमानामा भारतीय अतिक्रमण, नारायणहिटी दरवार र देशभक्तको अवसान, नेपालका पूर्वी सिमानामा भारतीय अतिक्रमण जस्ता पुस्तकहरु प्रकाशित भएका छन्।
तीन दर्जनभन्दा बढी अनुसन्धानमूलक लेख तथा सयौं संख्यामा विभिन्न पत्रपत्रिकाहरुमा लेखहरु प्रकाशन गरिसकेका प्राध्यापक डा. राजकुमार पोखरेल भ्वाइस अफ हिष्ट्रिको सम्पादक समेत छन्। शोधनिर्देशक भएर सात जनालाई विद्यावारिधी गराइसकेका छन्।
विवादित विषयको इतिहास लेखन गर्न डराउनेहरुका लागि राजदरवार हत्या काण्डको इतिहास लेखेर उनले साहसिक लेखन समेत गरेका छन्। टेलिभिजन र सोसल मिडियाहरुमा आएका उनका अन्तर्वार्ताहरुले समेत इतिहास र समसामयिक विषयको विश्लेषण गर्न चाहनेहरुको लागि प्रशस्त खुराक दिएको पाइन्छ।
लेखकले इतिहासका विद्यार्थीहरुलाई प्राज्ञिक गुणहरुका आधारमा लेख्न, विश्लेषण गर्न र अनुसन्धान गरेर शोध गर्नका लागि अभिप्ररित गरेको देखिएकोले यो पुस्तक समेत अनुसन्धानका लागि गर्नुपर्ने सबै प्रक्रिया पुरागरी प्रकाशन भएकोले प्राज्ञिक क्षेत्रका लागि समेत नयाँ धारको रुपमा लिइनेछ।
अनुसन्धान विधि:
इतिहासको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सत्य घटनालाई विश्लेषणात्मक व्याख्या गर्न सक्नु हो। इतिहास पुष्टीगर्न प्रमाणहरुको आवश्यकता पर्दछ। अवलोकन, अन्तर्वार्ता, पुस्तक, जर्नल, लेख, चिठ्ठीपत्र जस्ता दस्तावेजहरुको अध्ययनबाटै प्रमाणहरु प्राप्त हुन्छन्।
लेखकले अनुसन्धान विधि प्रयोग गर्दा आफैले २०४७ सालमा टंकप्रसाद आचार्यसंग लिएका अन्तर्वार्ता, संकलन गरिएको राणा शासकले दण्ड सजाय दिएको व्यक्तित्वहरुको दण्ड सजाए सहितको नामावलीहरु र पत्रपत्रिकामा प्रजापरिषद र टंकप्रससाद आचार्यका बारेमा प्रकाशन भएका समाचारहरुलाई समावेश गरेर परिशिष्ट राखेका छन्।
द्वितीय स्रोतका रुपमा प्रकाशित पुस्तक, जर्नल र समाचारहरुलाई आधार मानेर गुणात्मक ढाँचामा विश्लेषण गरिएको छ। साइटेशन गर्दा सोसल मिडिया यूट्यूवको समेत प्रयोग गरिएको छ। सोसल मिडियामा रहेका सबै सामग्रीलाई एउटै तराजुले नतौलिनु भन्ने सन्देश दिन समेत यो पुस्तक सफल भएको छ।
पुस्तक प्राज्ञिक तथा अनुसन्धानका सबै गहनाहरुले झकिझकाऊ छ। त्यसैले यस अनुसन्धानमा अन्य प्रमाणहरु जुटाउन गरिएको मिहिनेतलाई हेर्ने हो भने उनले प्रजापरिषद र टंकप्रसाद आचार्यको विषय समेटिएका विभिन्न नेपाली, अंग्रेजी र हिन्दी भाषाका पुस्तकहरुमा उल्लेख भएका जानकारी र विश्लेषणहरुबाटै फरक दृष्टिकोण राखेर व्याख्या विश्लेषण गरेका छन्।
पुस्तकको पेज नं. १६३ देखि २१८ पेजसम्म ५५ पेज परिशिष्ट रहनुले पुस्तकमा उल्लेख गरिएका र दावी गरिएका प्रसंगको सप्रमाण देखिन्छ। अनुसन्धानका लागि ‘एपीए’ सातौं संस्करणको अनुशरण गरेर ‘साइटेशन’ देखि ‘रिफरेन्स’ सम्म एउटै शैलीमा रहेकोले यो पुस्तक शोध पुस्तक हो।
बिषयबस्तुको प्रस्तुतिकरण
लेखक प्राध्यापक पोखरेलले टंकप्रसाद आचार्य नेतृत्वको सरकार नेपाली राष्ट्रियता, स्वाभिमान, स्वाधीनताको दृष्टिले ज्यादै महत्वपूर्ण रहन गएका बताएका छन्। आचार्य आफू प्रधानमन्त्री हुँदा चीन, जापान, रुशजस्तो महत्वपूर्ण देशहरुसंग नेपालको सम्बन्ध स्थापित गर्न सफल भएको देखाएर परराष्ट्रनीतिमा निकै महत्वपूर्ण काम आचार्यबाट भएको प्रमाणित गरेका छन्।
टंकप्रसाद आचार्यलाई राजतन्त्र या गणतन्त्रजस्ता सवालमा विचारत ः तटस्थ देखिएका थिए। व्यवहारत : उनी राजतन्त्रको ममर्थक थिए भनेर विश्लेषण गरेका लेखकले लगतै तर, दरबार स्वेच्छाचारी बन्दै गएमा जनताले राजतन्त्रको विकल्प खोज्नेछन् भन्ने दृष्टिकोण आचार्यले राखेको स्वीकार गरेका छन्।
लेखकले टंकप्रसाद आचार्य र कृष्णप्रसाद भट्टराईको बारेमा तुलनात्मक विश्लेषण गर्दा कृष्णप्रसादले भनेको भनाईलाई हुवहू राख्दै प्रजापरिषद नेपाली काँग्रेसको अग्रज भएको कुरालाई स्वीकार गरेको तथा वि.सं. २००४ सालमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना हुँदा टंकप्रसाद आचार्य आफ्नो पार्टीको अध्यक्ष बनाएका थियौं र विश्वेश्वरजी उहाँको अनुपस्थितिका कारणले मात्र कार्यवाहक हुनुहुन्थ्यो भनेर उल्लेख गरेकाले आचार्य नेपालको जेठो राजनेता नै थिए।
अझ कृष्णप्रसाद भट्टराईले राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि १२ बुँदे संझौता अन्तर्गत आन्दोलन गरिरहेका साथीहरुले बुझेका छैनन भन्ने मनसाय राख्दै भनेका थिए, ‘यस बेला बी.पी. कोइराला र टंकप्रसादजी जस्ता सुझबुझ भएका नेताको खाँचो थियो। तर देशको दुर्भाग्य, गिरिजाप्रसाद नेता भएका छन्’ भनेर २०६२ साउन ३ गते भनेको प्रसङ्ग उठाएका छन्।
लेखकले नेपालको अहिलेको तरल राजनीतिमा कतै न कतै केही न केही कमजोरी त छ भन्ने देखाउन पुस्तकमा कृष्णप्रसाद भट्टराईको विचारको सहारा लिएर ‘नेपालको भूराजनीतिमा प्रजातन्त्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई सँगै हाक्ने नेतृत्वको पछिल्ला दिनमा खडेरी पर्दै गयो भन्न समेत भ्याएका छन्।
उनले यो बेला बीपी र टंकप्रसाद आचार्यजस्तो व्यक्तित्वको अभाव देखिएको प्रष्टसंग भनेका छन्। लेखकको यही खुवीको जति प्रसंशा गरेपनि कम नै हुन्छ।
स्व. प्रदीप गिरिले बस्तीपुरको आश्रममा बस्दा जहिले पनि एउटा विषयमा चिन्तन गरेको पाउँथे।
हाम्रो पुस्तासम्मकाले त कृष्ण, रामलाई आफ्नो आदर्श मानिरहेका छन्। तर नयाँ पुस्ताले विस्तारै त्यो मान्ने छैनन्। त्यसवखत हामीले हाम्रै संघर्ष गरेका महान व्यक्तित्वहरुको आदर्श उनीहरुलाई बुझाउन सकेनौं भने अराजकता फैलिन्छ भन्ने गर्दथे। आज यो पुस्तक पढेपछि प्रदीप गिरिले चाहना गरेको एउटा काम यो पनि हो।
यस्तै आदर्शका व्यक्तित्वहरुको संघर्ष, त्याग, नैतिकता, परराष्ट्र नीतिका लागि नयाँ सोच दिने व्यक्तित्वका गाथाहरुबाटै भावी पुस्ताले आफूलाई त्यही आदर्शमा ढाल्ने प्रयास गर्दछ। यो पुस्तक त्यसका लागि पनि अति महत्वको हो भन्ने मलाई लागि रहेको छ। यसले नेपालको इतिहास लेखनमा एउटा पक्ष थप गरेको छ। इतिहास रुचाउनेहरुका लागि यो खुसीको कुरा हो।
पुस्तकमा लेखक प्रा. डा. राजकुमार पोखरेलले टंकप्रसाद आचार्यलाई एउटा दल र सीमाभित्र राखेर हेरिनु हुँदैन भनेका छन् र भविष्यका लागि यसै विषयमा थप अनुसन्धानको बाँकी पक्षको बारेमा समेत औल्याइ दिएका छन्।
अन्तर्वार्ताका क्रममा टंकप्रसाद आचार्यले झापा विद्रोहको प्रसङ्गमा भनेका छन्, ‘एउटा व्यक्ति झापामा पक्राऊ परेको केही दिनपछि उनलाई रिहा गराउन सरकारमा दबाव आएको छ भनेर त्यस बेला सरकारमा रहेकै मानिसहरु भन्दथे। दक्षिण भारत र केही पश्चिमा देशहरुले छोड्न दबाब दिनु भनेको ती मान्छे आन्दोलनभित्र पसेका व्यक्ति हुन भनेर बुझ्न गाह्रो हुँदैन’’ समेत भन्नुले राष्ट्रियता र देशभक्तको अवधारणा कतिपय नेताहरुको लागि हात्तीको दुईवटा दाँत एउटा देखाउने र अर्को चपाउने भनेजस्तै त्यस्ता नेताले बाहिरी रुपमा गर्ने भनेको हात्तीको बाहिरी दाँत देखाए जस्तै हो भन्ने अर्थ दिन्छ। त्यसैसन्दर्भमा आचार्यले देशभक्तहरु जेलमा परे, षडयन्त्रकारीहरु बाहिर बसेर पार्टी चलाईरहेका हुन् कि जस्तो आशंका र अनुभव मैले गरेको छु’ भनेकोलाई पनि को को जेलमा परे, को को परेनन् भन्ने इतिहास हेरेर राष्ट्रवादी को को रहेछन् ? खोज्नुस भन्ने सन्देश पनि पुस्तकले दिएको छ।
पुस्तकमा परेको एउटा प्रसङ्गले कोइराला परिवारको राजनैतिक विशेषतालाई छोटोमा टंकप्रसाद आचार्यले यसरी भन्नु भएको छ, ‘म जेलमा थिएँ। यिनले ( कोइराला) नेपाली काँग्रेस बनाउन कलकत्तामा सममेलन गरे। मलाई सभापति घोषणा पनि गरे।
अनि जेलभित्र यातना सहेर बसेका हामीलाई राणाहरुसित मिलेर मोजमस्ती गरेका छन् भनेर प्रंचार पनि गरे। यो भन्दा बेइमानीअरु के हुन्छ ? … … काँग्रेस अझ त्यसमा पनि कोइरालाहरु रकमीजालीमात्र हुन्, आदर्श पुरुष होइनन्। तर नेता भने होनहार हुन् ’। यसबाट कोइराला परिवारले देशलाई कता लगे भन्ने प्रष्ट हुन्छ।
राजा महेन्द्रसँगका धेरै प्रसङ्गहरुको विश्लेषण गर्दै लेखकले केही मामिलामा राजा महेन्द्रभन्दा बढी राष्ट्रवादी टंक प्रसाद आचार्य रहेको देखाएका छन्। साथै वि.सं. २००८ सालमा काँग्रेस सरकारले कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध प्रधानमन्त्री रहँदा टंकप्रसादले खोलिदिएका कारण उनीप्रति बामपन्थी सद्भाव रहेको थियो।
पुस्तक आफ्नो शीर्षक अनुसारको खुराक पस्किन सफल भएको छ। तर, लेखक आफैले अझ थप अनुसन्धान गर्न पाए आहा हुने थियो भन्न पनि छोडेका छैनन्। विशेष गरेर नेपाल प्रजापरिषदका बारेमा राजधानी र मोफसलका जनमानसमा रहेको दृष्टिकोणको समानता र असमानता, त्यसवेलाका मानिसको चेतना स्तरले उत्पादन गरेको विचार कस्तो थियो ? त्यस वेलाको सोच, आदर्श, त्याग र निष्ठाको राजनीतिको खोजमूलक अध्ययन आवश्यक छ भनेर औल्याएका छन्।
यसले अहिलेको परिवेशसंग तुलनागर्दै तुलनात्मक अध्ययनबाट आम पाठकमा सही र गलत छुट्टाउने एउटा आधार दिन्छ भनेकाले प्रतिष्ठानले लेखकको यो इच्छा पनि पुरा गर्ने नै छ भन्ने लाग्दछ।
पुस्तक पूर्ण भएपनि नेपाल प्रजापरिषदसँग जोडिएका तलका मूख्य घटनाहरु यस पुस्तकमा पार्न पाएको भए अझ राम्रो हुन्थ्यो कि ? भन्ने लागेको छ।
‘नेपाली काङ्ग्रेसवाट अलग भएर टंकप्रसाद आचार्य र भद्रकाली मिश्रले वि. सं. २०१५ मा नेपाल प्रजा परिषद्लाई पुनः सक्रिय बनाए। आम निर्वाचन २०१५ मा आचार्य र मिश्रले नेपाल प्रजा परिषद्, आचार्य र नेपाल प्रजा परिषद्, मिश्रको रूपमा चुनाव लडेका थिए।
आचार्यको गुटले ५३,०३८ मत प्राप्त गर्दै २ सिट र मिश्रको गुटले ४९,८२० मत प्राप्त गर्दै १ सिट जित्यो। मिश्रको गुट २०१७ मा, राजा महेन्द्रले पञ्चायत प्रणालीलाई लागू गरे पश्चात, नेपाली काङ्ग्रेसमा सम्मिलित भएको थियो।
तर बाँकी रहेको नेपाल प्रजा परिषद्, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) सँग वि.सं. २०७४ कात्तिक २३ गते एकीकरण भयो। तात्कालिक अध्यक्ष गोविन्दप्रसाद दुलाललाई एक कार्यक्रमका वीच एमाले पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नो पार्टीमा स्वागत गरेका थिए।’
निष्कर्ष :
पुस्तक इतिहास र राजनीतिमा चाँसो लिनेहरुको लागि, इतिहासका विद्यार्थी र शिक्षकका लागि उपयोगी मात्र छैन, यसले पुस्तक लेखन गर्नेहरुलाई एउटा पद्दती नै सिकाएको छ। राजनीतिमा व्यक्तिगत स्वार्थको हावी भइरहेको नेपालको वर्तमान अवस्थामा राजनीति गर्नेहरुलाई राजनैतिक प्रसंगमा नजिरका रुपमा उदाहरणहरु दिनसक्ने धेरै खालका घटना, भनाई र त्यसले पारेका असरहरु पुस्तकमा समेटिएका छन्।
जेठो राजनीतिक पार्टीका जेठो राजनेता टंकप्रसाद आचार्य भएको र जब जब नेपालमा आन्दोलनहरु हुन्छन् तब तब देशभक्त राजनीतिज्ञहरुले संझना गर्नुपर्ने व्यक्तित्वका रुपमा आचार्यलाई प्रस्तुत गर्न पुस्तक सफल भएको छ।
आचार्यको आदर्शलाई नेपाली यूवा जगतमा फैलाउनका लागि समेत यो पुस्तक सहयोगी हुने देखिन्छ। पुस्तकले नेपाल प्रजापरिषदसँगको समकालीन राजनीतिक पार्टीहरुसँग तुलना गरेर छोटो अवधिसम्म रहेको भएपनि प्रजापरिषदले स्थापित गरेको इतिहास नै गौरबमय भएको पुस्तकले पुष्टि गरेको छ।
अझ कोइरालाहरुले भारतसँग वनसाइडेड लभमात्र गरेको भनेर आचार्यले सटिक विश्लेषण गरेको प्रसँगदेखि भारत, चीन, पश्चिमाले नेपालमा कसरी राजनीतिक रोटी सेकिरहेका हुन्थे भन्ने कुरा पुस्तकमा परेको छ। यस्ता धेरै प्रसँगहरु छन् जसलाई एकपटक नेपाली काँग्रेसका नेतादेखि कार्यकर्ताहरुले समेत पढ्नै पर्ने देख्दछु।
अझ अहिले गणतन्त्रको रक्षाका लागि भारत, पश्चिमा मुलुक धाउनेहरुले समेत देशभक्त र राष्ट्रवादी शक्तिलाई समेत राजनीतिको मूलधारमा ल्याउने खालको गणतन्त्रको परिकल्पना गर्न यस पुस्तकले एउटा आधार दिने देखेको छु।
सहप्राध्यापक, इतिहास केन्द्रीय विभाग
Facebook Comment