लघुकथा :मोह

`तरकारी खेती गरेर जहान पालौँला भनेको त, नहुने रहेछ। आफ्नो जीवन मात्र हो र? उनले समेत दु:ख पाउने भइन्। ´निराशा भावमा गौरी शंकरले भने।
सही थाप्दै मधुविलासले भने, `त्यही त भन्या, जाडो गर्मी नभनेर परिश्रम गर्याे। तरकारी बेच्ने बेलामा बजार भाउ नै हुँदैन।´
`त्यति मात्र हो र? बैंकको व्याज र जरिवाना अनि घर खर्च कसरी पुर्याउने? केही नयाँ व्यवसाय गरौँ भने पनि न त पूँजी छ , न त सीप नै! देशमा रोजगारीको त वातावरण नै भएन, झनै वैराग लाग्छ।´ खुइ..य! गर्दै गौरी शंकरले थपे।
उनीहरु दुबैजना तरकारी खेतीमा पसिना पनि खन्याउँदै थिए, एकआपससमा दु:ख पनि बाँड्दै थिए। न त बेलामा मलखाद पाइन्छ, पानी नपाएर खङ्ग्रङ्ग भएका बोट बिरूवा हेरेर मधुविलास एकोहोरो घोरिरहे।
उनको भावमुहार पढेका गौरी शंकरले भने, `यस्तो पाराले त छोराछोरी पढाउन पनि गाह्रो हुने भयो। हुर्केका छोराछोरी अर्काको देखासिखी गर्छन्। कसरी पुर्याउने?´
निधारको पसिना पुछ्दै मधुविलासले मलिन स्वरमा भने, `युवाहरू विदेश पलायन हुँने मोह दिनानुदिन बढ्दै जानुको कारण पनि यस्तै भएर त होला।´
गैंडाकोट ४ नवलपुर
Facebook Comment