‘सगरमाथा संवाद’को तयारी अन्तिम चरणमा

डिसी नेपाल
३० वैशाख २०८२ १४:४३

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको बताएकी छन्।

मंगलबार ‘सगरमाथा संवाद’ बारेमा पत्रकारहरुलाई ब्रिफिङ गर्दै उनले जेठ २ देखि ४ गतेसम्म चल्ने ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको भन्दै संवादमा यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको बताइन्।

उनले भनिन्, ‘नेपाल सरकारले ‘सगरमाथा संवाद’ को पहिलो संस्करण १६ देखि १८ मे, जेठ २ देखि ४ गतेसम्म गर्दैछ। संवादको यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको छ। ‘सगरमाथा संवाद’ नेपालले स्थापना गरेको अन्तर्राष्ट्रिय फोरम हो। यसमा मानव समस्या, त्यसमाथि छलफल र समाधानकाबारे अन्तरक्रिया गरिन्छ। यसैगरि ‘सगरमाथा संवाद’ को तयारी हाल अन्तिम चरणमा पुगिसकेको छ। तयारीको बारेमा विभिन्न समयमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी पनि गराइरहेका छौं।’

यस्तै, उनले नेपालको हिउँ पग्लिने हो भने सबैलाई समस्या हुने हुँदा नेपालका हिमालका बारेमा नेपाल मात्र नभइ विश्वलाई नै चासो रहेको भन्दै संवादमा धेरै देशको प्रतिनिधिहरूको सहभागिता रहने बताइन्।

उनले भनिन्, ‘नेपालका हिमालका बारेमा नेपाल मात्र होइन विश्वलाई नै चासो छ। किनभने नेपालको हिउँ पग्लिने हो भने सबैलाई समस्या हुन्छ। त्यसकारण यस संवादमा धेरै देशको प्रतिनिधि आउनुभएको छ। यो राजनीतिक फोरम होइन, त्यसकारण यसमा जलवायु परिवर्तन बाहेक अरुबारे छलफल गर्दैनौं। यस कार्यक्रमका बारेमा विगतका सरकारले पनि धेरै प्रयासहरू गरेका थिए। कार्बन र उर्जाको क्षेत्रका बारेमा र नेपालभित्र गर्नुपर्ने कानुनी कुराको बारेमा पनि गम्भीर रुपमा कामहरू अगाडि बढि रहेको छ।’

‘सगरमाथा संवाद एक बहु–सरोकारवाला संवाद मञ्च हो। जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्त्वका प्रमुख मुद्दामा छलफल गर्न प्रतिबद्ध छ। एक प्लेटफर्मको रूपमा, यसले व्यापक रुपमा जीवनका सबै क्षेत्रका मानिसलाई एकै ठाउँमा ल्याउँछ, जसमा सकारात्मक परिवर्तनको लागि बहसलाई आकार दिन र चलाउन हिस्सेदारी, प्रभाव र क्षमता राख्दछ,’ मन्त्री राणाले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *