अस्ताए लोकगायक अमर लामा
धनगढी । लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका कलाकार अमर लामाको सोमबार बेलुका ४७ वर्षको उमेरमा निधन भएको छ। पेटको बिरामीले थला परेका उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो। काठमाडौंमा उपचार हुन नसक्दा घर ल्याउँदै गर्दा बीच बाटोमै उनको निधन भएको हो।
डोटीको बडिकेदार गाउँपालिका-३ देवल (घाङल) मा जन्मेका लामा हाल कैलालीको चुरे गाउँपालिकाको खानीडाँडामा बस्दै आएका थिए। स्कुले जीवनमै पढ्दै गर्दा पहराको फूल नामक गीति एल्बमबाट चर्चित लामाले दर्जनौ गीति एल्बम बजारमा ल्याएका थिए।
उनी गायनका साथै नाट्य र उद्घोषण विधामा पनि उत्तिकै चर्चित थिए। बाँसुरी, मादल, हार्मुनियम लगायतका बाद्दवादमा पनि उत्तिकै पोख्त लामा सुदूरपश्चिममा हुने मेला, महोत्सवमा आकर्षणका केन्द्र थिए।
महेन्द्रनगरको महाकाली एफएमबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका लामाले डोटीको शैलेश्वरी एफएममा स्टेसन म्यानेजरका रुपमा काम गरिसकेका थिए।
उनको मंगलबार हिन्दू धार्मिक परम्परा अनुसार गोदावरी नदीमा अन्तिम संस्कार गरिएको छ।
गोदावरी आर्यघाटमै अन्तिम संस्कारमा श्रद्धाञ्जली दिन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कूलपति डा. टीएन जोशी, चलचित्र पत्रकार संघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज जोशी, उपाध्यक्ष विवेक नागरी, सचिव कृत विष्ट, पत्रकार वीरेन्द्र रावल, वरिष्ठ गायक नरेन्द्रराज रेग्मी, चर्चित डेउडा गायक भुवन दाहाल, डोटीको बडिकेदारका समाजसेवी तथा नेकपा एमालेका युवा नेता सिद्धराज जोशी, चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटी लगायतका कालाकार तथा राजनीतिकर्मी पुगेका थिए। प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. जोशीले लामाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्षण गरेका थिए। लामाका दुई पत्नी, दुई छोरा र दुई छोरी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment