भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

डिसी नेपाल
३० वैशाख २०८२ २०:०४

नयाँ दिल्ली। भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन्। यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नु, कलेजोमा क्षति र मृत्युसम्म निम्त्याउन सक्छ।

उक्त घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो। मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए।

जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहका अनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनापछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

पञ्जाब प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै घटनाको विस्तृत छानबिन भइरहेको र दोषीहरूलाई कानूनी दायरामा ल्याइने जनाएको छ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिए।

गत वर्ष मात्रै पनि भारतको दक्षिणी राज्य तामिलनाडुमा यस्तै घटनामा ५३ जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *