संस्मरण निबन्ध

पहिलो रेडियो अन्तर्वार्ता

ज्ञानेन्द्र विवश
३ जेठ २०८२ ७:०७

रेडियो नेपालको सिंहदरबारस्थित स्टुडियो भवन। २०४४ साल जेष्ठ १२ गतेको दिन। त्यो क्षणको स्मरण गर्दा आज पनि मेरो मन उत्तिकै थर्थराउँछ। रेडियोको त्यो ठूलो भवन, माइक अगाडि बोल्नुपर्ने अनौठो अनुभव। र, मभित्र उब्जिएको आत्मविश्वास र संकोचको द्वन्द्व ! यी सबै एकसाथ आँखा अगाडि नाच्छन्।

त्यो मेरो पहिलो रेडियो अन्तर्वार्ता थियो। म गाउँबाट आएको एक साधारण युवक, जसले लेख्नमा खुबै मन रमाउँथ्यो, तर बोल्न भने सधैँ पछाडि पथ्र्यो। रेडियो नेपालको स्टुडियोभित्र पसेर कुर्सीमा बस्दा मेरो मनमा असीम डरले जरा गाडेको थियो। मेरो हृदयको गति अस्वाभाविक रूपमा तेज भइरहेको थियो। म आफूले केही गलत बोल्छु कि भन्ने त्रासमा डुबिरहेको थिएँ।

वासुदेव मुनाल दाइले भनेको एउटा वाक्यले त्यो क्षणलाई अझै विशेष बनाएको थियो। उहाँले मायालु मुस्कानसहित अँगालोमा हात राखेर भन्नुभएको थियो, ‘आज म तिमीसँग यो सफलताको खुशी साट्न रेडियो अन्तर्वार्ता लिने छु।’

उहाँका ती शब्दहरूले मलाई एकछिन झसङ्ग बनायो। मनमा सोच्दै थिएँ, ‘म जस्तो गाउँको एक साधारण मानिससँग के कुरा होला ? अनि, ती कुरा मैले कसरी व्यक्त गरूँला ?’

त्यसअघि मैले दुईपटक मात्रै आफँैले लेखेको कविताहरू वाचन गरेको थिएँ। ती क्षण पनि मेरा लागि ठूलै चुनौती थिए। लेख्न जति सजिलो लाग्थ्यो, बोल्न भने त्यति नै कठिन। वाचन गर्दा मेरा हात र गला कति पटक काँपेका थिए, त्यो म आफैँलाई थाहा छ। आज भने माइकका अगाडि बोल्नुपर्ने। अझ लेखेको कुरा हेर्ने सुविधा पनि नभएर

म आफूले सोँचेर ठिकसँग उत्तर दिन सकँुला कि नसकुँला भन्ने डरमा थिएँ।

आमुन्ने-सामुन्ने भएर स्टुडियोको कुर्सीमा म र वासुदेव दाइ बस्यौँ। उहाँले कार्यक्रम सुरु गर्नुभयो। परिचय दिन सुरु गर्दा उहाँले भनेका ती शब्दहरूले मेरो मनलाई उत्साह र गौरवले भरिदियो।

उहाँले भन्नुभयो, ‘प्यारा भाइबहिनीहरू, आज म तिमीहरूलाई तिमीहरूले सुन्दै आएको एउटा विशेष व्यक्तिसँग परिचित गराउँदैछु। हिजोसम्म तिमीहरूसँगै भाइका रूपमा हुनुहुन्थ्यो। उहाँका निबन्ध, कविता र कथाहरू मैले यसै कार्यक्रममार्फत प्रसारण गर्दै आएको छु। तर आजदेखि उहाँ तिमीहरूको दाजु हुनुहुन्छ।’

त्यो क्षण मलाई यस्तो लाग्यो, मानौँ, म एउटा ठूलो पहाड चढेर चुचुरोमा पुगेको छु। उहाँले थप्नुभयो, ‘यस वर्षको एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुनुभएका, खोटाङ जिल्लाको चिसापानी माध्यमिक विद्यालयका उहाँ, तिनै दाजु ज्ञानेन्द्र विवश।’

म भित्र त्यस क्षण एक किसिमको नवीन ऊर्जा महसुस भयो। रेडियो नेपालको स्टुडियोमा म बोल्न आएको थिएँ, तर यो केवल बोल्नु मात्र थिएन। यो मेरो यात्राको एउटा महत्वपूर्ण ‘माइलस्टोन’ थियो। त्यो दिन मेरो गाउँ, मेरो विद्यालय र मेरो आफ्नै मेहनतको विजय थियो।

आज ती दिनलाई सम्झिँदा, रेडियोको माइक अगाडि डराएको युवा म आफैँमा गर्व गर्न बाध्य हुन्छु। त्यो पल मेरो लागि पहिलो थियो– पहिलो रेडियो अन्तर्वार्ता। तर त्यो पहिलो अनुभवले नै मलाई लेखन र व्यक्तित्वको दुनियाँमा थप उचाइमा पुग्ने प्रेरणा दियो।

त्यो रेडियो अन्तर्वार्ताले मलाई दिएको खुशीको बयान शब्दमा गर्न कठिन छ। म जस्तो गाउँको एक साधारण किशोर, जसले सधैँ लेख्नमै रमाउने, तर बोल्नमा हिच्किचाउने, उसलाई रेडियो नेपालको जस्तो ठूलो मञ्चले दिएको अवसर अकल्पनीय थियो।

सबैभन्दा पहिले, त्यो क्षणले मलाई आत्मविश्वास दिलायो। म गाउँको कुनाबाट आएर राष्ट्रिय स्तरको मञ्चमा आफ्ना भावना र सोंच प्रकट गर्न सक्ने व्यक्ति बनिसकेको थिएँ। त्यो दिन मैले महसुस गरेँ कि मेरो कलमले मलाई यहाँसम्म ल्याएको हो, तर अब मेरो आवाजले पनि मभित्रको प्रतिभालाई संसारसँग परिचित गराउन सक्छ।

दोस्रो, त्यो खुशी व्यक्तिगत मात्र थिएन, सामूहिक थियो। मभित्र गाउँ, विद्यालय र मेरो परिवारको गर्व समाहित थियो। रेडियोबाट मेरो नाम उच्चारण हुँदै गर्दा मेरो विद्यालयका मेरा गुरुहरू र सहपाठीहरूको अनुहारमा देखिने मुस्कान मैले मनमनै देखेँ। त्यो खुशी मेरै सफलता जस्तै उनीहरूको पनि सफलता थियो।

त्यस दिन वासुदेव मुनाल दाइले मेरो परिचय गराउँदै भाइबहिनीहरूलाई सम्बोधन गर्दा मैले महसुस गरेँ– ‘मैले अब आफूलाई सीमित राख्ने होइन। अरूलाई पनि प्रेरणा दिने व्यक्ति बन्नुपर्छ।’

त्यो खुशी माइकको अगाडि बोल्न सक्नुमा थिएन। त्यो खुशी जीवनका हरेक चुनौतीलाई सामना गर्न सक्ने आत्मबल पाउनुमा थियो। रेडियो अन्तर्वार्ताले मलाई सिकायो, ‘जब आफूभित्रको डरलाई जित्न सकिन्छ, तब आत्मविश्वासको नयाँ अध्याय खुल्छ।’

त्यो दिनको खुशी जीवनभरको प्रेरणा बन्यो। मैले त्यसपछि मात्र लेख्न होइन, जीवनका हरेक अवसरमा आत्मविश्वासका साथ अघि बढ्नुपर्छ भन्ने पाठ सिकेँ।

गाउँ फर्कने मेरो त्यो यात्रा अरू दिनभन्दा बेग्लै थियो। रेडियो नेपालमा मेरो पहिलो अन्तर्वार्ता समाप्त भइसकेपछि म काठमाडौंबाट रात्री बसमा घरतर्फ लाग्दै थिएँ। मनमा अझै पनि स्टुडियोको अनुभव ताजा थियो। तर मलाई थाहा थिएन, मेरो आवाज र परिचय रेडियो-तरङ्ग हुँदै शहरबाट धेरै टाढाको मेरो गाउँसम्म पुगिसकेको रहेछ।

गाउँ पुग्नुअघि नै बाल कार्यक्रममार्फत प्रसारण भएको मेरो रेडियो अन्तर्वार्ताले चिन्ने-जान्ने सबैलाई मेरो बारेमा थाहा गराइसकेको रहेछ। रेडियो नेपालको त्यो कार्यक्रम, जसलाई गाउँका धेरैले ध्यान दिएर सुन्थे। पहिले मैले लेखेका लेखरचनाहरू सुन्थे। आज मेरो आवाज सुने। यसरी रडियो नेपालको बालकार्यक्रम मेरो परिचयको माध्यम बनेको थियो।

म गाउँ नजिक पुग्दा उकालो-ओरालोका पाइलाहरू अझै पनि थकाइले भारी थिए। तर त्यो थकान हरायो, जब मैले गाउँका मानिसहरूको उत्साह देखेँ। आँगनदेखि बाटोसम्म मलाई स्याबासी दिनेहरूको भीड थियो।

‘त्यो रेडियोमा तिमीलाई नै पो सुनेका रहेछौँ।’ भन्दै खुशीका साथ अँगालो हाल्नेहरूले मलाई अभूतपूर्व सम्मान दिए। त्यो दिन मलाई एउटा नयाँ अनुभूति भयो। रेडियोले मलाई मात्र बोल्नको माध्यम दिएको थिएन, यसले मेरो पहिचान गाउँभरि फैलाएको थियो। जसले मेरो खुशीलाई अझै गहिरो बनायो।

मैले देखेँ- मेरो सफलता मेरो मात्र थिएन। त्यो गाउँको हरेक मानिसको खुशी र गर्वको कारण बनिसकेको थियो। त्यो रात मैले आफूलाई पहिलो पटक गाउँको एउटा प्रतिनिधि व्यक्तिको रूपमा महसुस गरें। गाउँका मानिसहरूको स्नेह र समर्थनले मलाई आत्मविश्वासको अर्को तहमा पुर्‍यायो। मैले बुझेँ, मेरा शब्दहरू र मेरा आवाजले उनीहरूका मन छोएको छ।

गाउँलेहरूका ती मुस्कान, ती शब्दहरू र ती मायालु अँगालोहरू मेरो जीवनको सधैंभरि सम्झनलायक क्षण बने। त्यो दिन मैले महसुस गरेँ- ‘जब मेरो प्रयासले अरूलाई खुशी दिन सक्छ, तब सफलता झन् अर्थपूर्ण हुने रहेछ।’

सप्तकोशी तरेर ब्वाँखोला बगर हुँदै म आफ्नो घर फकिएरहेको थिएँ। फेदीको ठाडो उकालोबाट खन्याबास, निगालबासको कठिन बाटो उक्लिँदै, जुरेथुमको घना जङ्गल पार गर्दै चौताराबाट चिसापानी बजार पुग्दा मैले भोगेको थकान शरीरमा मात्र थिएन, त्यो मनमा पनि थियो। तर बजार प्रवेशसँगै क्षणभरमै त्यो थकाइ गायब भयो, जब मलाई चिन्नेहरू खुशीले झुम्दै बधाई दिन अगाडि आए।

‘त्यो रेडियोमा हामीले तिमीलाई नै सुनेका हौँ ! तिम्रो आवाज र तिम्रो खुशीको स्वर, सफलताको समाचार एकैचोटि सुन्न पायौँ।’ भन्दै उनीहरूले बधाईका शब्दहरू बर्साए। त्यो भेटघाट, त्यो मायाको वर्षा, मभित्रको खुशीलाई अभिव्यक्त गर्न शब्द अपुग भएजस्तै लाग्यो।

घर पुग्दा देखिएको दृश्य अझै प्रिय थियो। दाजु र भाउजुको अनुहारमा गर्वको झल्को र परिवारका अरू सदस्यहरूको प्रेमले मलाई भावुक बनायो। उहाँहरूको अँगालोमा मस्त हुँदै मैले सोचेँ- ‘मेरो मेहनतको वास्तविक फल त यहीँ छ, मेरो परिवारको खुशी। रेडियोमा प्रसारण भएको मेरो नाम र आवाज, मलाई चिन्नेजान्नेहरूका साथै खासगरी मेरो गाउँकै लागि पनि एउटा गर्वको क्षण बनेको थियो।’

मेरो सफलताको यात्रा मात्र मेरो थिएन। त्यो मेरो गाउँ, मेरो परिवार र मेरा गुरुहरूको पनि थियो। उहाँहरूको प्रेम र आशीर्वाद मेरो लागि सधैं प्रेरणाको स्रोत बनेको थियो।
‘गाउँको इज्जत राख्यौँ, स्कुलको नाम राख्यौँ, हाम्रो मानसम्मान बढायौँ।’ भन्दै मप्रति खुशी र गर्व पोख्ने ती आवाज सम्झिँदा, मभित्रको आत्मविश्वास झन् बलियो बनेको महसुस हुन्छ।

‘रेडियोबाट सबैलाई सुनायौ, आफैँ बोलेर हाम्रो गाउँको नाम चिनायौ।’ भन्ने मेरा प्यारा आफन्तजनहरूको गर्वपूर्ण शब्दहरूले मलाई लाग्यो– मेरो लेखन प्रयासले मात्र होइन, मेरो आवाजले पनि उहाँहरूको मन छोएको रहेछ।

हरेक अँगालोको माया र बधाईका शब्दहरूले महसुस भयो- ‘म अब केवल आफूलाई प्रतिनिधित्व गर्ने व्यक्ति मात्र होइन, मेरो परिवार, मेरो गाउँ, मेरो विद्यालय र मेरा गुरुवर्गहरूको पनि प्रतिनिधि थिएँ।’

त्यो दिन बाटोभरि मैले भेटेका मानिसहरू मेरा लागि प्रिय पाठशालाका गुरुहरूजस्तै लागे। उनीहरूका नजरमा गर्व, मुस्कानमा खुशी र शब्दमा मप्रतिको आशा स्पष्ट झल्किन्थ्यो। त्यो हरेक सम्बोधनले मलाई बुझायो- ‘जीवनमा पाएको सानो सफलता पनि अरूका लागि कति ठूलो अर्थ राख्छ।’

हाम्रो गाउँका ती आत्मीय मानिसहरूको शब्दमा म देख्थेँ- गाउँको गौरवको कहानी। उनीहरूले मलाई आफ्नो छोरोझैँ माया गरे। ‘हाम्रो चिसापानीको नाम रेडियोमा सुनियो्, बाबु।’ भन्ने ती शब्दले मलाई बुझेको थियो- मेरो यात्राले मलाई होइन, मेरो गाउँलाई नयाँ परिचय दिएको थियो।’

त्यस दिन मैले महसुस गरेँ, ‘सफलता मात्र व्यक्तिगत खुशीको कुरा होइन। यो साझा गर्व र सामूहिक सम्मानको कुरा हो। ती बाटोभरि भेटिएका गाउँलेका शब्द र मायाले मलाई जीवनभरका लागि प्रेरणा दिए। मैले बुझेँ- ‘आफ्नो कामले अरूलाई कृतकृत्य बनाउन सक्नु नै वास्तविक सफलता हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *