असमानता

किन यति ठूलो असमानता, किन यति ठूलो खाडल, किन यति ठूलो दूरी हुने र नहुने बीचको। आशा र निराशा बीचको। चाहना र परिपूर्ति बीचको। शुरु र अन्तिम बिन्दु बीचको। आकाश र जमिन बीचको। संघर्ष र परिणाम बीचको। शान्ति र क्रान्ति बीचको।
खाने र नखाने बीचको। प्रेम र घृणा बीचको। मान्छे र मान्छे बीचको। मन र मन बीचको। धनी र गरिब बीचको। न्याय र अन्याय बीचको। अग्रगामी र प्रतिगामी बीचको। अँध्यारो र उज्यालो बीचको।
समानता- न्यूरोड र दूर दराजको सिमखर्क गाँउ बीचको। एकातिर रितिएको गाँउ, बाँजो खेत र बिरक्त लाग्दो गरिबै गरिबले भरिएको वास्तविकताले दिएको पीडाले मडारिँदै दु:खका आँशु झारिरहेको गाँउ अर्को तिर भरिभराउ-ठेलमठेल भएको काठमाडौं शहर।
यो शहरको न्यूरोड र ईन्द्रचोक क्षेत्र जहाँ सुनै सुनले सजिएका पसलहरुले देखाएको सम्पन्नता भएपनि सिमखर्क जस्ता गाउँमा बस्नै पर्ने बाध्यता भएकी सात ठाउँमा फाटेको चोलो लाएर सिकुवाको डिलमा बसेर आज ढिडो खान पाइन्छ कि पाइँदैन भनेर पर्खेकी सिम्खार्किनी आमा बीचको यो असमानता यो दूरी यो खाडल कसरी मेटाउने र कसले मेटाउने? कि यो असमानता अझै बढाउँदै लाने कि घटाउने?
ढिलाई हुनु भन्दा पहिला अब तिमी आफैलाई सोध:
अब फूल कहाँ रोपौं करेसा बारिनै किर्तेको हातमा गई सकेछ। फूल पनि किन चाहियो जब कि माला लाउने दिदी बहिनी र दाजु भाइनै घरमा छैनन् भने। धानको बिउ पनि किन राखौं भएको खेत नै गुमी सकेछ भने। कोर्ने काइयोको के आवश्यकता चिण्डो टाउकोलाई।
चुल्हामा आगो बाल्नुको के अर्थ यदि भाँडामा हाल्ने चामलनै छैन भने। स्वाभिमान बन्न पो किन खोजौं यो अभिमानीहरुको राज्यमा बसेर। शायद त्येसैले होला विदेशको बाटो पैल्याउँछौं। न्यायको आश किन गरौँ जहाँ न्यायालयको घाँटीनै अठ्याएर रखिएको छ भने।
कहाँ गएर पढौं जव बिद्यालय खोज्दा पार्टीको भर्ती केन्द्रमा पुगिन्छ। त्यसैले पढ्न विदेश जाउ रे। बिरामी परे उपचार गर्न स्वदेशमा होइन बिदेशमा जाऊ रे। रोजगारी खोज्न स्वदेशमा होइन बिदेशमा जाऊ रे। अनि गए पछि फर्केर आऊ नआऊ तर पैसा भने सधैं पठाऊ रे।
यहाँ बसेर त केवल भ्रष्ट मात्रै बन अनि गरिब माथि छलकपटको जाल हानेर सक्दो लुट अनि धनि र गरिब बीचको खाडल अझै ठूलो बनाउ रे। त्यसैलेत नेता, कर्मचारी ब्यपारी पार्टीका झोले र बिचौलिया बाहेक आरुको बाँच्ने अधिकार छैन रे।
सक्छौ भने भ्रष्टाचारीहरु बाटोमा होइन महलहरुमा खोज। इमान्दारीहरु महलमा होइन, झुपडी, गल्ली र बाटोमा खोज। थोपा थोपा जस्तै एक एक रुपैयाँ गरेर खाइ नखाइ जम्मा गरेको सानो रकम भएपनि केही न केही ब्याज पाएर यसो बढ्ला कि भन्ने आशले सहकारी सुरक्षित ठाउँ भनेर त्यहीँ नै जम्मा गरे।
तर यो आमाको पसिना र रगतको कमाई दुष्ट ठग कर्मचारी भनाउँदा र नेताहरुले चोरी खाए। यसको पीडा कस्ले बुझ्छ र? अहिले जसले मेरो पैसा खायो तिनीहरुको पनि जसरी मेरी एउटी छोरी जसलाई स्कूल पनि पठाउन सक्दिन र उसको र मेरो पीडा जस्तै ठग र चोरहरुका सन्तानले पनि सात पुस्ता सम्म पीडा र कष्ट भोगी रहनु परोस्।
ढिलो चाडो भए पनि यो आमाको श्राप अवश्य लाग्छ। नत्र भने के म पनि झुण्डिएर मरौं? कि आफैंलाई पेट्रोल खन्याएर जलौं? कि मुसा मर्ने औषधि खाएर आफ्नो ज्यान लिउँ? तर के गर्ने आमा भएर छोरीको माया लाग्छ र उसैले गर्दा मात्र घस्रिरहन्छु-यो आश र शाश तानिरहनछु।
धनी र शक्तिशालीहरुलेनै गरिब जनतालाई अझ गरिब बनाएर चुसी रहन्छन्। फलस्वरूप मानवता र क्रुरता बीचको असमानता नेता, कर्मचारी, ब्यापारी र बिचौलियाको आचरण, नीति र क्रियाकालबको दुष्परिणाम आइनै रहन्छ।
दानवले अत्याचार गरेको देशमा हामी मानवताको खोजीमा तड्पी रहेका छौं । देश र जनताको दयनीय परिस्थिति देख्दा देख्दै पनि जनता भने सँधैभरि भ्रष्ट शासककै डम्फुमा नाचेर आफैंलाई बर्बाद पारिरहेका छन्।
यो लोकतन्त्र रे -यो गणतन्त्र रे! यो त केवल गरि खान नदिने र खान नपाउनेहरुका लागि सम्पूर्ण आर्थिक सम्मृद्धि बाटाहरु बन्ध गरिएको तन्त्र हो। यो त केवल सामाजिक आर्थिक मूल्य मान्यता गुमाएको दरिद्र लुटतन्त्र जहाँ तन्त्रैतन्त्रले गाँजिएको अनियन्त्रित र स्वच्छाचारी शाशकहरुले चलाएको कुलीनतन्त्र हो जहाँ साधारण जनताको अधिकार खोसिञ्छ र अनैतिक बिबेकहिन शाशकहरुले मात्र शासन गर्छन्।
त्यस्तो राज्यमा नैतिकवान र इमान्दारी पाउन त बारीमा शिला खोजे जस्तो गरी खोज्नु पर्छ। बेथिति तन्त्र भएकाले यसलाई त केवल मनतन्त्र भने हुन्छ जहाँ मनखुशी मनमोजि शासन चलाइन्छ।
यस्तो अबस्थामा शासकले मात्र बोल्न पाउँछन्। अरुको मुखमा बुझो लगाइन्छ। तर उनीहरुले सुनेर बस्न पाउँछन् तर बुजेर पनि बुचपचाउनु पर्छ। एस्तो पनि लोकतन्त्र-गणतन्त्र! यहाँ त खाएर पनि नखाएको र खान नपाएर पनि खाएको बाहाना गर्नु पर्छ। के यो मार्क्सबाद हो? मार्क्सबादको सिद्धान्तमा त न एस्तो देखियो न लेलिनवादमा या बि. पी. बादमै।
यहाँ त आफू र आफन्तहरुलाई बाहेक अरु सबैलाई निषेध गरेर जाने निषेधबादको नीति पो रहेछ। हुन पनि के र अरुको बिचारलाई नमारी आफ्नो बिचार कसरी राम्रो देखाउन सकिन्छ र।
सुँगालाई पिँजडामा बन्द गरे जस्तै अरुलाई जबर्जस्ती बन्द नगरी आफू कसरी स्वतन्त्र भएर स्वैछाले शासन चलाउन पाइन्छ र। नवछलकपटवाद र झुट्बादको राज्यमा यस्तै अनैतिक अभ्यास बाहेक अरु के भोग्न पाइन्छ र।
नवसामन्तबादबाट निर्देशितहरुको राज्यमा भ्रटचार, अत्याचार, निषेधबाद, ब्यक्तिबादनै शासकहरुको निर्देशित सिद्धान्त हुनेरहेछ। निरङ्कुश शासनमा जनताहरु भने नेता र शासकहरुको निरङ्कुश, तानाशाही, अभिमानी र अत्याचारी क्रियाकलाप , नीति र ब्यबहारको शिकार बनिरहन्छ।
अब यो दूरी- हुने र नहुने बीचको असमानता, इमान्दारी र भ्रष्ट बिचको भिन्नता, मानवता र क्रुरता बीचको दूरी, सामन्ती र बिपन्न बिचको खाडल, प्राकृतिक र अप्राकृतिक देखावटी ढर्रा बिचको भिन्नता, सन्तुष्टि र असन्तुष्टि बीचको खाडल र शासक र जनता बीचको दुरी कसरी मेटाउने कसरी पुर्ने?
जब सम्म शासकहरुको जकडिएको दरिद्री सोच, बिचार, नियत, आचरण र ब्यबहार सुध्रिदैन र जनताहरु यथास्थितिलाई स्वीकार गरिरहन्छन तब सम्म देखिएको असमानता मेटिँदैन। जनताहरुनै देशको आर्थिक, सामाजिक तथा नैतिक दावित्यको जिम्मेबार हुनुपर्छ।
जब सम्म जनताले उनीहरुको जिम्मेबारी बोध गर्दैनन् तब सम्म उनीहरु निरंकुस नेता, शासक, ब्यापारी र बिचौलियाको सहज सिकार बनिरहनछन् र असमानता असमानतानै रहिरहन्छ । सुखी र सुखका शास फेर्नेहरु फेरि रहन्छन्-गरिब दुखीहरु भने सधै जकडिएर निशासी रहन्छन्।
Facebook Comment