स्याङ्जाको चराङमा फल्यो स्याउ

डिसी नेपाल
२० जेठ २०८२ १३:०६
92
Shares

वालिङ (स्याङ्जा) । भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ। यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो।

भीरकोट–९ का वडा सदस्यसमेत रहनुभएका चराङ गहतेका ललित गुरुङ र ईमानप्रसाद गुरुङले परीक्षणका लागि लगाउनुभएको स्याउ यसवर्ष लटरम्म फलेको छ।

‘दुई वर्ष अघि स्याउका बेर्ना किनेर परीक्षणका लागि लगायौं’, ललितले भने, ‘फल्छ की फल्दैन भन्ने अन्योल थियो। अहिले लटरम्म फलेको छ।’

गत वर्ष ५–७ दाना मात्र फलेको उनले बताए। स्याउका लागि यहाँको हावापानी अनुकुल रहेको पाइएको छ। समुद्री सतहदेखि झण्डै एक हजार ५०० मिटर उचाइमा रहेको चराङ गहतेमा परीक्षणका लागि लगाइएको स्याउले राम्रो उत्पादन दिन थालेपछि अब व्यावसायिक रुपमा स्याउ उत्पादन गर्न थालेको उनले बताए।

‘अब स्याउका बेर्ना ल्याएर व्यावसायिकरुपमा अगाडि बढ्ने तयारीमा छौं’, ललितले भने। स्याउको यावसायिक उत्पादनबारे कृषि प्राविधिकसँग समन्वय छलफल गरिरहेको उनले बताए।

चराङ गहतेमा स्याउ उत्पादन सफल भएसँगै अहिले त्यहाँका स्थानीय खाली रहेका जमिनमा व्यावसायिक रुपमा स्याउ खेती गर्नेतर्फ आकर्षित हुन थालेका छन्।

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यसबारे जानकारी प्राप्त नभएको बताउँछन्। ‘उत्पादन भएको स्याउको गुणस्तर पत्ता लगाउँदै छौं’, उनले भने। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *